काठमाडौँ । नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्ति गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई नै सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको थियो । शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।
बैठकपछि माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले ओली सरकारले फेरबदल गरेका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको जानकारी दिए ।
माओवादीले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हेरफेर गर्ने पौडेलले बताए ।