काठमाडौँ । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ तय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् ।
आज बसेको गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै तयार गरिने र त्यसपिछि मन्त्रीमण्डल विस्तार गर्ने सहमति जुटेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
उनले भने,‘न्यूनतम साझा कार्यक्रम चाँडै बनाएर जाने विषयमा सहमति बनेको छ ।’ मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा समेत सामान्य छलफल भएको उनले बताए ।
अध्यक्ष यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने टुंगो एक दुईदिनभित्र लाग्ने समेत बताए । उनले भने,‘माधव नेपालजी सरकारमा आउने टुंगो एक दुईदिनमा लाग्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको हो ।
गठबन्धनमा रहेका दलले गठन गरेको कार्यदलले भोलि सरकारको न्यूनतम साझा कार्यक्रमबारेको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।