मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइयो, जबरजस्ती हस्ताक्षर गराइयो : विमला वली
  • CIA Khabar

  • बुटवल । लुम्बिनी प्रदेश सदस्य विमला कुमारी खत्रीले नेकपा एमालेका नेताहरूले आफूलाई नेपालगञ्ज पुर्‍याइदिन्छौँ भनेर दाङबाट फर्काएर मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएको आरोप लगाएकी छन् ।

    बिहीबार नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफूलाई नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री कार्यालय, बुटवल पुर्‍याएको बताइन् ।

    उनले साउन १५ गते एमालेका प्रमुख सचेतक ढकाल र अर्का नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको र पार्टी प्रवेश गर्न दबाब दिएको बताइन् ।

    उनले आफूले पार्टी प्रवेश नगर्ने अडान लिएको र उपचारका लागि नेपालगञ्ज जान लागेको भनेपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔँ’ भनेको बताइन् ।

    खत्रीका अनुसार उनी नेताहरूको विश्वासमा उनीहरूको गाडीमा चढिन् । तुलसीपुरबाट अमिलिया पुगेपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी बुटवलतिर मोडियो । उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहेँ, उहाँहरूले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्‍यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्‍याउनुभयो ।

    बुटवलमा ल्याएर आफूलाई नेकपा एमालेमा प्रवेश गर्न दबाब दिएको उनले बताइन् । पार्टी प्रवेश गर्न इन्कार गरेपछि माइन्युट र प्रेस विज्ञप्ति पढ्न नदिई धम्क्याएर जबर्जस्ती हस्ताक्षर गराएको खत्रीले बताइन् ।

    साउन १५, १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिएर राखेको उनको भनाइ छ ।

    खत्रीले बिहीबार घटनाबारे विज्ञप्ति जारी गरेकी छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले पत्रकार सम्मेलनमा उक्त प्रेस विज्ञप्ति पढ्दै खत्रीलाई पाँच दिनसम्म मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर नेकपा एमालेमा प्रवेश गर्न दबाब दिएको बताए । उनले साउन २० गते दिउँसो शौचालायको चप्पल लगाएर खत्री त्यहाँबाट भाग्न सफल भएको बताए ।

    सांसद खत्रीले आफूले स्वेच्छाले नेकपा मआवादी केन्द्र रोजेको बताइन् । विभिन्न समयमा एमाले प्रवेश गर्न दबाब आए पनि आफू माओवादी केन्द्रमै उनको भनाइ छ । यस घटनाबाट आफूलाई गम्भीर शिक्षा प्राप्त भएको परिपक्व बनाएको बताइन् ।

    विपक्षी गठबन्धबाट मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी हुँदै गर्दा यही साउन १५ गते शुक्रबारदेखि सांसद खत्री नेकपा माओवादी केन्द्रका नेताहरूबाट सम्पर्कविहीन थिइन् ।

  • २१ श्रावण २०७८, बिहीबार १७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images