हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय
  • CIA Khabar

  • हुम्ला । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् ।

    बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन् । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिए ।

    “हामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ”, उनले भने । कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको उनको भनाइ थियो ।

    लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णयानुसार अगाडि बढाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए । अदानचुलीमा १८ वटा सामुदायिक विद्यालय छन् ।

    ताँजाकोटले यसअघि नै विद्यालय पुनः सञ्चालनमा ल्याइसकेको छ । सङ्घीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नसक्ने अधिकार दिएकाले सोहीअनुसार अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।

    यद्यपि जिल्लाको माथिल्लो क्षेत्रका सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकामा रहेका विद्यालय कहिले खुल्ने हुन् भन्ने अन्योल कायमै छ ।

  • २२ श्रावण २०७८, शुक्रबार ०८:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images