पाल्पा – ईलाका प्रहरी कार्यालय रामपुरको भवन निर्माण तथा थप स्तरोन्नती सम्बन्धी छलफल भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत प्रहरी कार्यालयमा बन्ने भवनको इन्जिनियर सहितको टोलीले पहिलो चरणको स्थलगत अध्ययन भएको छ ।
एशियाली विकास बैंक (एडिबी) को सहयोगमा नेपाल प्रहरी र महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत बन्ने भवनको स्थलगत अनुगमन र रामपुरका सरोकारवालासंग छलफल गरिएको हो । एडिबीको प्राबिधिक सहयोगमा देशका विभिन्न दश स्थानका प्रहरी कार्यालयमा भवन बनाउने गरी अगाडी बढेको भवनका सन्दर्भमा ईलाका प्रहरी कार्यालय रामपुरमा छलफल गरिएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराई सहित अध्ययन अबलोकनमा आएको इन्जिनियर सहितको टोलीले भवन निर्माणका लागि चाहिने क्षेत्रफल तथा हालको अवस्थाबारे अध्ययन अबलोकन गरेको छ । दश स्थानमा अनुगमन अध्ययन गरी उपयुक्त ठाउँ छनौट पश्चात् पहिलो चरणमा तीन स्थानमा भवन बनाइनेछ ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक भट्टराई सहित आएको इन्जिनियरको टोलीले कम्तिमा भवन निर्माणको आधार तथा जग्गा र चौकिल्लाबारे अध्ययन गरेको छ । एडीबीका प्रतिनिधि टोलीले पहिलो चरणको यो अध्ययनको रिपोर्ट एडीबीमा बुझाउने बताएको छ ।
पाल्पा प्रहरी प्रमुख सहितको प्रतिनिधि टोलीलाई स्थानीय नागरिकका तर्फबाट सहभागी यहाँका नागरिक, बुद्धिजीवी, समाजसेवीले ईलाका प्रहरी कार्यालय रामपुरको सेवा क्षेत्र सुरक्षाको हिसावले चुनौती र बढ्दो जनघनत्व भएकाले भवन अनिवार्य आवश्यक रहेको, डिएसपीको दरबन्दी र मुद्धा दर्ता लगायतका काम रामपुरबाट हुने गरी व्यवस्थाका लागि माग गरेका छन् ।
ईलाका प्रहरी कार्यालयमा प्रहरी निरिक्षकको दरबन्दी रहेको रामपुरमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराई समक्ष यहाँको शान्ति सु व्यवस्था अमनचयन कायममा स्तरोन्नतीको मागमा जिल्लाको पहल उत्तिकै रहनेमा बिश्वस्त भएको बताए ।
छलफलका क्रममा पाल्पाका प्रहरी उपरिक्षक भट्टराईले जिल्लामा पुग्ने धेरै मुद्धाहरु रामपुर क्षेत्रको भएकाले यहाँका जनताको सेवाका लागि थप जनशक्ति सहितको पुर्वाधार आवश्यक रहेको बताउनुभयो । प्रहरी उपरिक्षक भट्टराईले आफू पाल्पा आएदेखि मुद्धा र क्षेत्रको हिसावले रामपुरमा संरचना थपको लागि पहल गरिरहेको बताउदै सुरक्षाको हिसावले पनि रामपुरमा भवन र जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । ईलाका प्रहरी कार्यालय रामपुरको आफ्नै नाममा २३ रोपनी जग्गा छ । हाल भुकम्पले चर्काएको प्रशासनिक भवन मर्मत गरेर चलाइएको छ । पुर्ननिर्माणको ब्यारेकको पनि टिन मर्मत गरिरहनु पर्ने अबस्था छ । छलफलमा नगरपालिकाका नगर उप्रमुख बिष्णुदेवी घिमिरे आचार्य, रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिमाल मल्ल, सल्लाहकार तथा नेपाली कांग्रेसका जिल्ला उपसभापति देवराज ढकाल, नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एकीकृत समाजवादीका सल्लाहकार लेखनाथ पोखरेल, नेकपा माओवादी केन्द्रका कमलराज भट्टराई, नेपाल महिला संघ क्षेत्रीय सभापति विष्णुमाया ढकाल, नमस्ते रामपुर यातायात प्रालीका अध्यक्ष राजन पोखरेल लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले रामपुरमा जनघनत्व बढ्दै गरेको अवस्थामा विभिन्न अपराधिक क्रियाकलाप, हिंसाका घटना बढ्दै गरेकाले पनि डिएसपी सहितको दरबन्दी रामपुरको लागि तत्काल आवश्यक रहेको बताउदै त्यसको लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार तयार रहेको बताउनुभयो ।
बर्षौदेखि स्तर वृद्धि र जनशक्ति थपको लागि जिल्ला प्रशासन देखि केन्द्रसम्म माग गरिरहेको रामपुरका समाजसेवी देबराज ढकालले बताउनुभयो । यसपटक मन्त्री मण्डल गठन भैसकेपछि गृहमन्त्री बालकृष्ण खाणलाई रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले गत साउन ५ गते भेटेर डिएसपी दरबन्दी व्यवस्था गरिदिन माग गर्नुभएको थियो । यस अघि पनि रामपुरको टोलीले पटक-पटक स्तर वृद्धिको माग गर्दै केन्द्र धाएको थियो ।
ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिमबहादुर कार्कीले पूरानो जिर्ण भवनमा बसेर सेवा दिनु परेको बताउनुभयो । उहाँले इलाका प्रहरी कार्यालय रामपुरमा विशेष गरि महिला, बालबालिका सम्बन्धी केस आएको तथ्यांक सार्वजनिक गर्नुभयो । नयाँ भवन निर्माण भएमा नागरिकलाई सेवा दिन सहज हुनेछ ।