ओठ गुलाबी बनाउन धेरैले विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता घरेलु उपाय पनि छन्, जसले ओठको प्राकृतिक चमक फर्काउन सक्छ । साथै ओठलाई गुलाबी बनाउँछ ।
क) गुलाबको पत्ता
ओठको कालोपन हटाउन गुलाब फूलको पत्ता उपयोगी हुन्छ । गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउने र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउने र बिहान धुने । नियमित यसको प्रयोग गरे ओठ गुलाबी र चम्किलो हुन्छ ।
ख) चिनी र जैतुनको तेल
एक चम्चा चिनीमा जैतुनको तेल केही थोपा मिसाएर लेप बनाई ओठमा हल्का रगड्ने । यसो गर्दा ओठका पुराना कोशिका बिस्तारै हट्छ । साथै ओठको सौन्दर्य बढ्छ ।
ग) तिलको तेल र बेसारको लेप
एक चिम्टी बेसारलाई आधा चम्चा तिलको तेलमा मिलाएर लेप बनाई ओठमा लगाएर हल्का मसाज गर्ने । त्यसपछि ३० मिनेटसम्म छाडिदिने । त्यसपछि मन तातो पानीले धुने । यो प्रक्रिया दिनमा एक पटक गर्दा बिस्तारै कालो ओठ गुलाबी ओठमा परिणत हुन्छ ।
घ) कागती
कागतीको प्रयोगले पनि ओठको कालोपन हटाउँछ । यसकालागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनु पर्दछ ।
ङ) नरिवलको तेल र तिलको लेप
आधा चम्चा नरिवलको तेललाई सानो कचौरामा आधा चम्चा तिलको लेपमा राम्रोसँग मिलाउने । त्यो लेप राती सुत्नु अघि ओठमा लगाएर हल्का मसाज गर्ने । बिहान उठेर मनतातो पानीले पखाल्ने । यो प्रक्रिया एक महिनासम्म लगातार गरे ओठ गुलाबी र कोमल बनाउँछ ।