रामपुर नगरपालिका प्रशासनिक भवन उद्घाटन गृहमन्त्री खाणबाट हुने
  • CIA Khabar

  • पाल्पा-

    पाल्पा जिल्लाको रामपुर नगरपालिकाले निर्माण गरेको प्रशासनिक भवनको उद्घाटनका लागि शनिबार गृहमन्त्री बालकृष्ण खाण पाल्पा आउदै हुनुहुन्छ ।

    रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको निर्माण पुरा भएर सेवा शुरु भएसँगै गृहमन्त्री खाणबाट भवनको उद्घाटन गर्न लागिएको नगरपालिकाले जनाएको छ । भवन ५ करोड ७०लाख २७ हजार, ४ सय २३ रुपयाँको लागतमा निर्माण गरिएको हो । ४ तले भवनमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित बिषयगत शाखाका छुट्टाछट्टै कक्ष छन् । आयुर्वेद शाखा र पशु विकास सेवाको छुट्टै आफ्नै भवन छ । ४७३ बर्ग मिटरमा फैलिएको भवनमा ३५ कोठा छन् । सहज सेवाका लागि नगरपालिकाले आफ्नै आन्तरिक स्रोतको रकम बिनियोजन गरि प्रशासनिक भवन निर्माण गरेको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । गृहमन्त्री खाणले दिउँसो १ बजे नगरपालिका भवनको उट्घाटन गर्नुहुनेछ ।

    २०७४ असार ३० गते शिवको कन्ट्रक्सन प्रालि बबरमहल काठमाडौं सँग सम्झौता भएर २ बर्षमा २०७६ साल असार ३० मा सम्पन्न हुनुपर्ने भएपनि रकम अभाव र कोभिडको असरले गत असार मसान्तमा मात्र भवन निर्माण सम्पन्न भएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताउनुभयो । सुविधा युक्त भवन बनेसँगै नगरपालिकाले प्रवाह गर्ने सेवा थप सहज र सरल हुने बताउनुभयो ।

    नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ साल श्रावण ३१ को निर्णयबाट ३० बर्षका लागि यो जग्गा लिजमा लिएको हो । रामपुर नगरपालिका नेपाल सरकारले २०७१ साल बैशाख २५ गते ७२ नगरपालिका घोषित गर्दा स्थापना भएको नगरपालिका हो । साविक रामपुर गाविस हुँदाको १ तले भवनलाई ३ तलाको बनाई काम गर्दै आएकोमा सेवा दिन असहज भएपछि विगत २ बर्ष यता सम्झौता अनुसार मालपोत कार्यालयको दोेस्रो तलामा पनि सेवा विस्तार भएको थियो । भवन अभावमा नगरपालिकाका बिषयगत कार्यालय भवन नै छुट्टाछुट्टै हुँदा छिटो छरितो सेवा दिन सकिरहेको थिएन । १० वटा वडा रहेको रामपुर नगरपालिकामा भवन अभावले नागरिक प्रमुखसँगको सेवा लिन एक भवन र उपप्रमुखसँगको सेवा लिन अर्काे भवनमा रहेको कक्षमा पुग्नुपर्दथ्यो भने बिषयगत शाखाहरु पनि फरक–फरक स्थानमा साघुरिएका थिए । झण्डै ३ महिना यता नवनिर्मित भवनबाट सेवा सञ्चालन भइरहेको छ ।

    जिल्ला सदरमुकाम बाहिरको एक मात्र नगरपालिका रामपुर नगरपालिका साविक रामपुर, दर्छा, गाँडाकोट, खालिवन र गेझा गाविस समेटेर घोषित भएको हो । जुन १२३.३४ वर्ग कि.मि.मा फैलिएको छ । जिल्ला सदरमुकाम देखि ६५किलोमिटर पुर्वमा रहेको रामपुर नगरपालिका तिव्र शहरीकरणमा फस्टाएको छ ।

     

  • ४ चैत्र २०७८, शुक्रबार २१:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images