निर्वाचन प्रजातन्त्रको मेरुदण्ड-प्रधानमन्त्री देउवा
  • CIA Khabar

  • स्याङ्जा -सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन प्रजातन्त्रको मेरुदण्ड रहेको बताउनु भएको छ । बिहीबार चापाकोटको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै उहाँले देश निर्वाचनको सँघारमा रहेको बताउनु भयो ।

    प्रधानमन्त्री देउवाले भन्नुभयो,‘हामी अहिले निर्वाचनको सँघारमा छौँ । निर्वाचनको पूर्व तयारीमा अगाडि बढेका छौँ । समयमै निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्छ ।’ निर्वाचन स्वतन्त्र, भयरहित रूपमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने प्रधानमन्त्री देउवाको जोड थियो ।

    तीन तहको सङ्घीय प्रणालीमा स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा हुने सरकार भएको बताउनु प्रधानमन्त्री देउवाले स्थानीय सरकार पारदर्शी र जन उत्तरदायी हुनुपर्ने बताउनु भयो ।

    कार्यक्रमा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिकालाई समेटेर विकास निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कालीगण्डकी नदीको दायाँबायाँ ठूलो सहर बस्न सक्ने भएकाले कालीगण्डकी नदीमाथि आफू भौतिक तथा पूर्वाधार मन्त्री हुँदा पुल निर्माण गरेको र अरु पुल अहिले पनि निर्माणको क्रममा रहेको बताउनुभयो ।

    ढिलै भए पनि एमसिसी पास भएको छ, यसले नेपालमा समृद्धि ल्याउन र विकास निर्माणमा सहयोगी हुने विश्वास उहाँको छ । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनसम्म अहिले रहेको गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आसन्न निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयो । उहाँले देशलाई प्रतिगमनकारीबाट बचाउनका लागि पाँच दलीय गठबन्धन जरुरी रहेको बताउनुभयो ।

    गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले धार्मिक, पर्यटकीय एवं कृषिका क्षेत्रमा चापाकोटमा प्रचुर सम्भावना रहेकाले अलपत्र परेको कृषि क्याम्पस सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।

    चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीले संभावना भएकाले चापाकोटको विकासमा स्थानीय सरकार लागेको बताउनुभयो ।

  • १० चैत्र २०७८, बिहीबार १२:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images