प्रधानमन्त्री र गृहमन्त्रीको पहलमा नेपाल प्रहरीमा थपिएका २०,४१९ पदमा बढुवा प्रक्रिया सुरु
  • CIA Khabar

  • काठमाडौँ । नेपाल प्रहरीमा तल्लो तहका प्रहरीहरूको लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न सृजना गरिएका पदहरूमा बढुवा प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको पहलमा नेपाल प्रहरी स्थापना भएदेखि नै तल्लो तहमा लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न तीन पद सृजना गरिएको हो ।

    गृहमन्त्री खाणको विशेष सक्रियतामा प्रहरी नियमावली, २०७१ लाई नवौँ संशोधन गरी तीन पद सृजना गरिएको हो । यी पदमा दरबन्दी सृजना गर्न मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली २०७१ लाई संशोधन गरी ‘प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ ३ गते राजपत्रमा प्रकाशित भएको थियो । त्यही अनुसार पहिलो चरणमा बिहीबार मात्रै बढुवा सिफारिस भएको हो । यो निर्णयपछि तल्लो तहका प्रहरी कर्मचारीमा छाएको निरासा निराकरण हुनेछ ।

    गृहमन्त्री खाणको पहलमा जवान र हवल्दारको बीचमा प्रहरी सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हवल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायव निरीक्षक पद सृजना गरिएको छ । त्यसैका आधारमा बिहीबारबाट थपिएका पदमा बढुवा प्रक्रिया सुरु गरिएको हो । गृह मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार चार सय १९ प्रहरीको बढुवा हुनेछ । उहाँका अनुसार प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक हजार चार सय १८ जना, प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा तीन हजार सात सय ४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार दुई सय ५३ जना बढुवा हुनेछन् ।

    यी मध्य पहिलो चरणमा बिहीबार प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक सय ९१ जना, प्रहरी वरिष्ठ हवल्दारमा एक हजार एक सय ७३ जना तथा प्रहरी सहायक हवल्दारमा एक हजार सात सय ५२ जना बढुवा सिफारिस भएका छन् । दरबन्दी सृजना भए अनुरुप क्रमश बढुवा गर्दै लैजाने प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

    गृहमन्त्री खाणले लामो समयसम्म वृत्ति विकास हुन नसकेका तल्लो तहका प्रहरीहरूलाई काममा हौसला बढाउन यो निर्णय लिइएको बताउनु भयो । ‘लामो समयदेखि तल्लो तहका प्रहरीहरूको बढुवा हुन सकिरहेको थिएन । उनीहरूको बढुवा गरेर वृत्ति विकास गर्न पद थप्ने निर्णय गरेका हौँ । यसमा सम्माननीय प्रधानमन्त्रीको धेरै ठूलो हात छ,’ गृहमन्त्री खाणले भन्नुभयो । बढुवा ज्येष्ठताका आधारमा हुनेछ । यो व्यवस्था नियमावलीमै गरिएको छ ।

  • ११ चैत्र २०७८, शुक्रबार १९:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images