काठमाडौँ– नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन्। भारतको मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गर्ने निर्णय गरेको हो। अहिलेको भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाको कार्यकाल आगामी अप्रिल ३० मा सकिएपछि क्वात्राले विदेश सचिवको जिम्मेवारी सम्हाल्नेछन्। क्वात्रा भारतीय विदेश सेवामा ३२ वर्ष बिभिन्न जिम्मेवारीका कार्यअनुभव सँगालेका कूटनीतिज्ञ हुन् ।
क्वात्राले सन् १९९३ देखी २००३ को बीचमा संयुक्त राष्ट्रसंघीय मुख्यालय, दक्षिण अफ्रिका र उज्बेकिस्तानमा रहेका भारतीय कूटनीतिक नियोगहरूमा कार्यरत थिए। सन् २००३ देखि सन् २००६ सम्म उनी चीनका लागि भारतीय नियोग उपप्रमुखको रुपमा कार्यरत थिए। सन् २००६ देखि २०१० सम्म उनले नेपालको सार्क सचिवालयमा व्यापार, अर्थतन्त्र र वित्त ब्युरोको प्रमुखका रूपमा भारतको प्रतिनिधित्व गरेका थिए। सन् २०१० देखी १३ सम्म उनले अमेरिकाको वाशिङ्टनस्थित भारतीय दूतावासमा वाणिज्य प्रमुखको जिम्मेवारी समालेका थिए।
जुलाई २०१३ देखी २०१५ अक्टोबरसम्म उनले भारतीय विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान विभागको नेतृत्व गरेका थिए। पछि विदेश मन्त्रालयमा अमेरिका डिभिजनको प्रमुखको रूपमा काम गरेका थिए। क्वात्रा २०१५ अक्टोबर देखि अगस्ट २०१७ सम्म भारतीय प्रधानमन्त्रीको कार्यालयमा काम गरेका थिए। २०१७ अगस्ट देखी २०२ फेब्रुअरीसम्म भारतका लागि फ्रान्सको राजदूतको रहेका क्वात्रा सन् २०२० मार्चदेखि नेपालको राजदूतको रुपमा कार्यरत छन्।