लमजुङ- लमजुङको मध्यनेपालमा टिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो ।
सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा टिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । दुर्घटनामा परि टिपर चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा सोही टिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेसहित सो आयोजनाका सुपरभाइजर र सहयोगी रहेका छन् ।
त्यसैगरी अन्य मृतक मध्ये सोही आयोजनाका सुपरभाइजर अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने रहेका छन् । अन्य दुई जना अन्दाजी २८ वर्षीय पारस शाह र अन्दाजी २५ वर्षीय रवीन्द्र सेढाईं रहेका छन् । उनीहरूको नाम खुले पनि ठेगाना भने यकिन नभएको प्रहरीले जनाएको छ ।