ललितपुर । नेपाली कांग्रेस ललितपुरका सह–सचिव ऋषिदेव फुँयाल जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित भएका छन । बुधबार निर्वाचन आयोगमा एमालेले कुनै पनि पदमा आफ्नो तर्फबाट मनोनयन दर्ता नगराएपछि जिल्ला समन्वय समिति ललितपुरमा ९ वटै सिटमा अध्यक्ष, उपाध्यक्ष सहित सबै उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका हुन । दलीय भागबण्डा अनुसार कांग्रेसले अध्यक्ष र ५ जना सदस्य पाएको छ भने माओवादी केन्द्रले उपाध्यक्ष र २ जना सदस्य पाएको छ । उपाध्यक्षमा माओवादीका रामलाल थिङ, सदस्यहरुमा शोभा महर्जन, सादुराम श्रेष्ठ निर्वाचित भएका छन ।
नेपाली कांग्रेसका तर्फबाट सदस्यमा दिनेश घोरासाइने, हरिहर कार्की, सुबेर बहादुर पहरी,गीता खड्का र शोभा कार्की निर्वाचित भएका छन । नेकपा एकिकृतको तर्फबाट वडामा निर्वाचित सदस्यहरु समन्वय समितिमा बस्न नचाहेका कारण नेपाली कांग्रेस र माओवादी बिच गठबन्धन भएको हो ।
ललितपुरमा ६ स्थानीय मध्ये नेपाली कांग्रेसका प्रमुख उप प्रमुख सहित ७, एमालेका प्रमुख उप प्रमुख सहित ३ र माओवादी केन्द्रका २ जना उम्मेद्वारहरु उप प्रमुखमा निर्वाचित भएका थिए । जिल्ला समन्वय समितिकाको निर्वाचनमा पालिका प्रमुख र उप प्रमुखलाई मात्र मतदानको अधिकार हुने भएकाले गठबन्धनको पक्षमा ९ मत हुने भएका कारण एमालेले आफ्नो पार्टीको तर्फबाट उम्मेद्वारी नदिने निर्णय गरेको बताइएको छ ।