काठमाडौं । कोरोना महामारीको समयमा पनि वीर अस्पताल र ट्रमा सेन्टरमा भष्ट्राचार भएको भन्दै अस्पताल कर्मचारी युनियनले उजुरी दिएको छ ।
युनियनले प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति, राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, सीसीएमसी, अख्तियार , सर्तकता केन्द, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्य मन्त्री स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभाग, सम्पत्ती शुद्दीकरण विभाग, न्याम्सका पदाधिकारी लगायतमा भष्टाचार छानविन गरी दोषीलाई कारवाही माग गर्दै उजुरी दिएका हुन् ।
खरिद इकाईले उपकरण, मनिटर, भेन्टिलेटर, एबीजी मेसिन कमिसन नपाएका कारण मर्मत नगरेको, कोटेशनमा महंगोमा सामान तथा ओपीडी छाप किनेको, कोभिड भत्ता र होटललाई पैसा तिर्दा अनियमितता गरेको युनियनको आरोप छ ।
यस्तै अघिल्लो वर्षदेखि कै कोभिड भत्ता शैक्षिक भत्ता, सेवा विस्तार भत्ता, औषधि उपचार खर्च नदिएको, अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई समयमै तलव भत्ता नदिएको, उनीहरुलाई समान सेवा नदिएको भन्दै उजुरी दिएको हो ।
कोभिड फोकल पर्सनले कोभिड शय्या, एचडीयू शय्या, आईसीयू शय्या खाली हुँदा पनि छैन भन्ने गरेको तथा पहुँच हुनेलाई मात्र शय्या उपलब्ध गराउने गरेको आरोप समेत लगाइएको छ । कोभिड बिरामी लाई दिइने रेड्मेसिभिर औषधि आफूनिकट लाई मात्र दिने गरेको भन्दै युनियनले छानविनको माग गरेको छ ।
युनियनले हाल सेवामा खटिने स्वास्थ्यकर्मी लाई आवश्यक मात्रामा सुरक्षा सामाग्री उपलब्ध गराउनु पर्ने, स्वास्थ्य बिमा गर्नु पर्ने, कोभिड भत्ता को ब्यवस्था हुनु पर्ने कार्यरत कर्मचारी बिरामी विरामी परेमा उपचार र शय्याको व्यवस्थाको माग गरेको छ ।
कोभिड भ्याक्सिनमा अहेव युवराज सुवेदी र नवराज श्रेष्ठले अनियमितता गरेको युनियनको दाबी छ । युनियनले भष्ट्राचार छानविन गरी दोषीलाई कारवाही गर्न माग पनि गरेको छ । साथै अस्पतालमा तत्काल योग्य, सक्षम तथा अस्पतालमा भएको भष्ट्राचारमाथि कारवाही गर्ने सक्ने निर्देशक नियुक्ति गर्नुपर्ने समेत माग राखेका छन् । माग सम्वोधन नभए कडा कदम चाल्न बाध्य हुने कर्मचारी युनियनले जनाएको छ ।












