काठमाडौँ – दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत आयोजनाको लगानी जुटेको छ।
निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ।
जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निष्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ। आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गर्दै कार्यक्रममा मन्त्री बस्नेतले यसका लागि जलविद्युतको उत्पादन बढाउने, प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए।
बस्नेतले खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् निर्यातका लागि बजार सुनिश्चितका लागि प्रयासहरू भइरहेको उल्लेख गर्दै उनले आयोजना तोकिएकै समय र लागतमा सम्पन्न गरी विकास निर्माणमा ढिला हुँदा उठ्ने प्रश्नको जवाफ दिनुपर्ने बताए।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यही खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताएका छन्। भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत् खरिदका लागि आतुर रहेको बताउँदै घिसिङले ती देशहरुमा विद्युत् बिक्री गर्दा वर्षायामको बिद्युतको राम्रो दर पाउने अवस्था बन्दै गएको उल्लेख गरेका छन्।
प्रशासक धितालले जलविद्युत क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनाहरुमा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गरेको जानकारी दिए। उनका अनुसार निर्धारित समय र लागतमा निर्माण सम्पन्न गरी आयोजनालाई नमुना बनाउनु पर्नेछ।
कम्पनीका सीईओ भण्डारीले आयोजनाको निर्माण चार वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको जानकारी दिए।
तामाकोसी पाँचौँ ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो। त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाहरु बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ।
माथिल्लो तामाकोसीको विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ। हाइड्रो मेकानिकल काम बाँकी रहेको छ। आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युत् गृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्ने छ।
आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनौटका लागि टेण्डर प्रक्रियामा रहेको छ। विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेका छन् भने आयोजना निर्माणमा आवश्यक पर्ने करिब १३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ।
आयोजनाबाट वार्षिक रुपमा ४९ करोड ५१ लाख युनिट बिद्युत् उत्पादन हुने छ। माथिल्लो तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् बृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्ने छ। आयोजनाबाट उत्पादित बिद्युत् खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ।