काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसले जनताको समस्यालाई आफ्नो ‘मुद्दा’ बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेको ‘महानगर सम्मेलन’मा उहाँले कांग्रेसले जनताका जल्दाबल्दा समस्यालाई आफ्नो मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
“कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो काम गरे आगामी निर्वाचनमा कांग्रेस सशक्त पार्टीका रूपमा स्थापित हुनसक्छ”, उहाँले भन्नुभयो । नेता पौडेलले नेपाली राजनीतिको विश्वविद्यालय कांग्रेस पार्टी भएकाले कांग्रेसबाट अरु पार्टीले समेत पाठ सिक्नुपर्ने बताउनुभयो ।
उहाँले स्वतन्त्रताको पक्षधर पार्टी कांग्रेस भएकाले कांग्रेसले स्वतन्त्रतालाई बन्देज गर्न नमिल्ने धारणा राख्नुभयो । “मुलुकको विकासको नेतृत्व गरेको पार्टी कांग्रेसले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आएको छ, जनताको समस्या समाधान गर्ने पार्टी कांग्रेस हो”, उहाँले भन्नुभयो ।
उहाँले कांग्रेस जनताको पार्टी हो भन्ने सन्देश दिन सके आगामी निर्वाचन सजिलै जित्न सक्ने बताउनुभयो । सरकारमा बस्दा जनताको समस्या समाधान गर्न सकेनौँ भने आगामी निर्वाचन जित्न कांग्रेसलाई गाह्रो हुने उहाँको भनाइ थियो ।