काठमाडौं– भारतमा लोकसभा अन्तर्गत सबै सात चरणको मतदान सकिएसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि चुनाव जित्ने सम्भावना रहेको एक्जिट पोलले देखाएको छ ।
विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् ।
एक्जिट पोलले बीजेपी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) करिब दुई तिहाई सीट नजिक रहेको अनुमान गरेको छ। जसमा एनडीएले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ ।
न्युजनेसनको एक्जिट पोलले एनडीएले ३४२ देखि ३७८ सिट जित्ने अनुमान गरेको छ भने कांग्रेसको इण्डिया गठबन्धनले १५३ देखि १६९ सिट जित्ने अनुमान गरेको छ ।
त्यसैगरी इण्डिया न्यूजको एक्जिट पोलले एनडीएले ३७१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले १२४ सिट जित्ने अनुमान गरेको छ ।
त्यस्तै रिपब्लिक म्याट्रिजको एक्जिट पोलले एनडीएले ३५३ देखि ३६८ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले ११८ देखि १३३ सिट जित्ने अनुमान गरेको छ ।
त्यस्तै इण्डिया टुडे– एक्सिस एक्जिट पोलले एनडीएले करिब ३३१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले करिब १९५ सिट जित्ने अनुमान छ ।
विभिन्न एक्जिट पोलले उत्तर प्रदेश, विहार जस्ता ठूला राज्यमा बिजेपीले नै धेरै सिट जित्ने अनुमान गरेका छन् ।
सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको नतिजा जुन ४ अर्थात आगामी मंगलबार घोषणा हुनेछ ।
सन् २०१९ को लोकसभामा बीजेपीले २९३ सिट जितेको थियो भने समग्रमा एनडीए गठबन्धनले ३४२ सिट जितेको थियो ।