राजधानीको १० क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
  • CIA Khabar

  • काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौं उपत्यकाका १० क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ ।

    सत्तारूढ र प्रतिपक्षी दलका विद्यार्थी संगठनहरूको तालाबन्दी तथा निर्वाचन समितिका अधिकृतहरूको राजीनामाका कारण निर्वाचन प्रक्रिया अन्योलमा परेको हो ।

    केन्द्रीय क्याम्पससहित पद्मकन्या बहुमुखी क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव, विश्वभाषा, बाल्मिकी, कोटेश्वर, पब्लिक युथ, सरस्वती, र पशुपति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन प्रभावित भएको छ ।

    केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को एक समूहले तालाबन्दी गरेपछि निर्वाचन कार्यतालिका प्रभावित बनेको हो ।

    स्ववियु अध्यक्ष श्यामराज ओझा नेतृत्वको समूहले अधिकृत उम्मेदवार अनोज कार्कीविरुद्ध नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बागी उम्मेदवारी दर्ता गराएको भन्दै विरोध जनाएको छ ।

    पार्टी नेतृत्वले कार्कीलाई आधिकारिक उम्मेदवारको रूपमा चयन गरिसकेको दाबी गरिएको छ ।

    पद्मकन्या क्याम्पसमा निर्वाचन अधिकृत डा. शैलेन्दुप्रकाश नेपालले राजीनामा दिएपछि स्थिति झनै जटिल बनेको छ । उनले निर्वाचन सम्पन्न गर्न असहज परिस्थिति उत्पन्न भएको भन्दै राजीनामा दिएका हुन् ।

    नेपाल ल क्याम्पसमा नेकपा (एमाले) निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

    संगठन दर्ताका क्रममा क्रम संख्या विवाद भएपछि उनीहरूले निर्वाचन अवरुद्ध पारेका छन् । यस्तै, शंकरदेव क्याम्पसमा नेविसंघले फर्जी विद्यार्थी भर्ना गराएको आरोपमा अनेरास्ववियु आन्दोलित भएको छ ।

    अखिल क्रान्तिकारीले विश्वभाषा र पशुपतिमा तालाबन्दी गरेपछि त्यहाँको निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । मतदाता नामावलीमा अनियमितता भएको उनीहरूको आरोप छ ।

    बाल्मिकी संस्कृत विद्यापीठमा संगठन दर्ता प्रक्रियामा अवरोध भएको छ भने कोटेश्वर क्याम्पसमा विवादकै कारण मनोनयन दर्ता हुन सकेको छैन ।

    सरस्वती बहुमुखी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनको विरोधका कारण निर्वाचन प्रभावित बनेको छ । यस्तै, पब्लिक युथ क्याम्पसमा विद्यार्थी भर्ना सम्बन्धी विवादले निर्वाचन अन्योलमा परेको छ ।

    यसैबीच, विद्यार्थी संगठनहरूबीच समन्वय गर्न आगामी चैत १ गते सर्वपक्षीय बैठक बोलाइएको छ । स्ववियु निर्वाचनलाई सहज बनाउने प्रयास भइरहेको स्ववियु सभापति नवीन पाण्डेयले जानकारी दिएका छन् ।

  • २८ फाल्गुन २०८१, बुधबार १८:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images