काठमाडौं l नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरको प्रदर्शनप्रति धेरै चर्चा गर्नु आवश्यक नभएको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले केही हजार मानिस सडकमा आउनुले ठूलो अर्थ नराख्ने बताए । उनले भने, “१५/२० हजार मान्छे सडकमा आउनु कुनै ठूलो कुरा होइन। यसबारे धेरै चर्चा गर्नु उपयुक्त लाग्दैन।”
उनले पूर्वराजा ज्ञानेन्द्रको शक्ति र अवस्था आफूले राम्ररी बुझेको बताए। “मैले स्वयं एक घण्टा बसेर ज्ञानेन्द्र शाहलाई सम्झाएको थिएँ। म राम्ररी जानकार छु, उहाँको शक्ति के कति हो। यो (राजसंस्था) फर्कने कुरा होइन। धेरै चर्चा गरेर आत्तिनु आवश्यक छैन,” सिटौलाले भने।
सिटौला गृहमन्त्री रहेका बेला नारायणहिटी दरबारबाट ज्ञानेन्द्र शाहलाई निर्मलनिवास सारिएको थियो। उनले त्यसबेलाको सम्झना गर्दै भने, “राजाबारे धेरै चर्चा हुन्छ। तर किन गर्नु? म आफैं बिदा गर्न गएको थिएँ, राम्रै सम्झाएको छु।”
सरकारको निर्णयअनुसार ज्ञानेन्द्र शाह नागार्जुन निवासमा बसिरहेका उल्लेख गर्दै उनले सरकारको चाहेमा उनलाई त्यहाँबाट पनि हटाउन सकिने बताए। “सरकारले नै नागार्जुन निवास बस्न दिएको हो। अहिले चाहे हटाउन सक्छ,” उनले भने।
त्यस्तै, सरकारकै व्यवस्थापनमा पूर्वराजा शाहलाई सुरक्षा दिइएको सिटौलाले स्मरण गराउँदै अनावश्यक बहस नगर्न आग्रह गरे। “सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ। त्यसैले यस विषयमा धेरै चर्चा गर्नु जायज छैन,” उनले थपे।