एनआरएनए पोर्चुगललाई नयाँ ढंगले अगाडि बढाउँछु : अध्यक्षका उम्मेदवार लामा
  • CIA Khabar

  • लिस्बन । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी नयां नेतृत्वका लागि सुजन लामाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । हाल उपाध्यक्ष समेत रहेका लामाले यही जुलाई ६ र ७ मा राजधानी लिस्बनमा हुने संघको दशौं राष्ट्रिय अधिवेशनमा आगामी (२०२५–०२७) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । संघलाई साझा संस्थाका रुपमा स्थापित गराउने अभियानका साथ ‘एकता, सद्भाव र सहकार्य’ को मूल नारालाई अगाडी सार्दै लामाले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। सामूहिक र समाबेशी नेतृत्वको अवधारणा सहित संघलाई सबल, सक्षम र सशक्त बनाउने ठोस योजना र कार्यक्रमका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको लामाले बताए ।

    ‘नेपालका लागि नेपाली’ र ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई सार्थक बनाउँदै संघलाई अझ क्रियाशील र गतिशील बनाउन आफूले उम्मेदवारी दिएको उनले प्रष्ट पारे। लामाले लिस्बनस्थित नेपाली दूतावास, स्थानीय सरकार र पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्थासंग सहकार्य-समन्वय गर्ने, नेपालको पर्यटन प्रबर्द्धनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने, पचास हजार युरो बराबरको अक्षयकोषको स्थापना गर्ने, पोर्चुगलमा रहेका नेपालीहरूको साझा समस्या समाधानका लागि पहल गर्ने, यहाँका नेपालीहरूलाई सामाजिक, भावनात्मक र सङ्गठनात्मक रूपमा एकजुट बनाउने, कागजी प्रक्रियामा रहेकाहरुलाई सहयोग पुर्याउने र भाषा प्रशिक्षणको व्यवस्था गर्ने लगायतका कार्ययोजना अघि सारेका छन्। यस्तै, नेपाली कल्चरल हाउसको स्थापनाका लागि पहल गर्ने, नेपाली खानाको प्रबर्द्धनका लागि प्रबर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, एनआरएनए पोर्चुगलको आफ्नै कार्यालयको स्थापना गर्ने, आपतमा परेका नेपालीहरूको राहत, उद्धार तथा शव व्यवस्थापनका लागि आपत्‌कालीन कोषको स्थापना गर्ने योजना रहेको लामाले बताएका छन् । ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ गर्ने भावनासहित लामाले संघलाई संस्थागत रूपमा सुधार गर्दै नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    उनलेे युवाहरूलाई फुटबल, भलिबल, क्रिकेट जस्ता खेलकुदमा जोड्न र प्रोत्साहन गर्न ‘खेलकुद कोष’ स्थापना गर्ने बताएका छन् । पोर्चुगलमा रहेका नयाँ पुस्तालाई नेपाली भाषा, कला, संस्कृति र नेपालीपनसँग जोडेर त्यसको प्रवर्द्धन र संरक्षण गर्ने लगायतका कार्ययोजना सहित आफू चुनावी मैदानमा होमिएको लामाले बताए ।

    संघको नेतृत्व तहमा रहेर सामाजिक गतिविधिमा सकृय रहदै आएका लामाले क्षमता, अनुभव र योगदानका आधारमा आफू नै नेतृत्वका लागि उपयुक्त र सक्षम पात्र रहेको दाबी समेत गरेका छन् । “अधिकांश साथीहरूको चाहना र अग्रजहरूको साथ–समर्थन पाएकै कारण मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ,” लामाले भने, “व्यक्तिगत लाभ वा स्वार्थका लागि होइन, निस्वार्थ सेवा र संघलाई संस्थागत रूपमा बलियो बनाउन म नेतृत्वमा आउन लागेको हुँ ।” पर्यटन व्यवसायी समेत रहेका लामा विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका आएका छन् । विभिन्न संघ–संस्थामा आबद्ध हुँदै संगठनात्मक अनुभव बटुलेका लामा संघका वर्तमान उपाध्यक्ष तथा तामाङ एसोसिएसन पोर्चुगलका पूर्व अध्यक्ष समेत हुन् ।

  • २२ असार २०८२, आईतवार २१:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images