कपिलबस्तु – नेकपा एमाले कपिलबस्तुले उम्मेदवार नबनाएपछि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा जनता प्रगतिशील पार्टीबाट कपिलबस्तु क्षेत्र नं. २ (ख) का उम्मेदवार बनेका रशिद मिर्जा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री कबिन्द्र बुर्लाकोटीले मिर्जालाई पार्टी प्रवेश गराए। पार्टी प्रवेशसँगै मिर्जालाई रास्वपाको केन्द्रीय जनसम्पर्क विभागको सदस्यमा समेत मनोनयन गरिएको छ ।
पार्टीमा प्रवेशपछि मिर्जाले रास्वपा युवाको आशाको केन्द्रका रूपमा स्थापित भएको उल्लेख गर्दै जनताका अपेक्षा पूरा गर्न आफू पूर्ण रुपमा प्रतिबद्ध रहने बताए । उनले थपे, “रास्वपाले देखाएको नयाँ राजनीतिक शैलीलाई नागरिकसम्म पु¥याउन म सक्रिय रहनेछु ।”
मिर्जाको प्रवेशसँगै कपिलबस्तुमा रास्वपाको संगठन विस्तारमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ । स्थानीय नेताहरुका अनुसार मिर्जाको युवामुखी छवि र सक्रियताले पार्टीको जनसम्पर्क अभियानलाई सशक्त बनाउन सहयोग गर्नेछ ।