असोज २१ गते मृत फेला परेकी मोरङ, लेटाङकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा छिमेकी पक्राउ परेका छन् ।लामो समयसम्म घटनाका दोषी पक्राउ नगरेको भन्दै प्रहरीको आलोचना भइरहेको बेला गौतमको हत्या आरोपमा छिमेकी पदम अधिकारी पक्राउ परेका हुन् । ५६ वर्षीय अधिकारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । प्रहरी श्रोतका अनुसार हत्यामा पदमकै संलग्नता रहेको भेटिएको छ ।
असोज २१ गते दिउँसो घरबाट निस्किएकी उनको बेलबारी चिसाङ सामुदायिक वनमा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेको थियो । पदमले उनको हत्या गर्नुपर्ने कारण तथा कसरी हत्या गरियो भनेर प्रहरीले केही खुलाएको छैन । अनुसन्धानमा सम्लग्न अधिकारीले भने, ‘अभिभावकसँगको पुरानो रिसइबीका कारण नियोजित हिसाबले उनको हत्या भएको सक्छ !’
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीसमेत खटिएको थियो । प्रहरीको विभिन्न कार्यालयबाट खटिएको संयुक्त टोलीले अन्ततः हत्यामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन सफल भएको हो । अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् ।














