कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् । मुख्यमन्त्री शाहीले बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेतासमेत रहेका शाही मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १५ जना, नेकपाका १४, एमालेका सभामुखसहित १० र राप्रपाका एक प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार बनाउनका लागी २१ सांसदको आवश्यक पर्छ । कर्णालीमा नेकपा र एमालेका २४ सांसद रहेका छन् । साउन ९ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको थियो । सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व गर्ने अवसर नेकपालाई जुरेको छ ।














