देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ
  • CIA Khabar

  • काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई समुदायबीचको साम्प्रदायिक तनावपछि जिल्लामा धार्मिक सद्भाव कायम गर्न सार्वजनिक स्थानमा राखिएका धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा  प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको सबै धर्मका गुरु तथा प्रतिनिधिसहितको बैठकले सार्वजनिक स्थान र सडकमा राखिएका एकल जातीय, धार्मिक तथा साम्प्रदायिक पहिचान झल्काउने झण्डा हटाउने सहमति गरेको हो।
    गत साउन १० गते देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद र झडप हुँदा तीन जनाको ज्यान गएको थियो। घटनापछि जिल्लामा साम्प्रदायिक तनाव र मनमुटाव बढेपछि प्रशासनले धार्मिक अगुवालाई एकै ठाउँमा राखेर सद्भाव कायम गर्ने विषयमा छलफल गरेको हो।
    बैठकले सार्वजनिक स्थानमा सर्वसाधारणलाई अवरोध हुने गरी डिजे तथा माइक बजाउन नपाइने निर्णय गरेको छ। धार्मिक स्थल तथा कार्यक्रमहरूमा पनि निर्धारित मापदण्डअनुसार मात्रै ध्वनि प्रयोग गर्नुपर्ने सहमति भएको छ।
    प्रशासनका अनुसार स्वीकृति नलिई सार्वजनिक स्थलमा डिजे वा माइक बजाएर सर्वसाधारणलाई बाधा पुर्‍याउन पाइने छैन। धार्मिक स्थल तथा कार्यक्रममा प्रवचन, प्रार्थना, भजन वा गीत बजाउँदा पनि सरकारले तोकेको ध्वनि मापदण्ड पालना गर्नुपर्नेछ। सहरी आवास क्षेत्रमा दिउँसो ५५ र राति ५० डेसिबल तथा ग्रामीण क्षेत्रमा दिउँसो ४५ र राति ४० डेसिबलभन्दा बढी ध्वनि निकाल्न नपाइने व्यवस्था कार्यान्वयन गर्ने सहमति भएको छ। त्यस्तै, साउन १० गते कप्तानगञ्जमा भएको घटनापछि सिर्जित साम्प्रदायिक मनमुटाव कम गर्न आ–आफ्ना समुदायका सदस्यलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह गर्ने निर्णय पनि भएको छ। प्रशासनले यसअघि साउन २० गते सार्वजनिक अपिल जारी गर्दै सार्वजनिक स्थान तथा सडकमा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा–ध्वजापताका हटाउन आग्रह गरेको थियो। सोही अपिलअनुसार मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र निजी घरबाहेक सार्वजनिक स्थानमा राखिएका त्यस्ता झण्डा हटाउन सबै पक्षले सहयोग गर्ने सहमति गरेका छन्।

  • २५ श्रावण २०८३, सोमबार ०९:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images