काठमाडौं । रुकुमेलीहरूलाई एउटै साझा संस्थागत संरचनामा आबद्ध गर्दै एकता, सहकार्य र सामाजिक सेवाको अभियानलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले स्थापना गर्न लागिएको रुकुमेली सेवा समाजको औपचारिक घोषणा आगामी भदौ १४ गते आइतबार काठमाडौंमा हुने भएको छ।
रुकुमेली सेवा समाज निर्माण तयारी समितिको आइतबार काठमाडौंको अनामनगरमा बसेको बैठकले समाजको संस्थागत संरचना औपचारिक रूपमा घोषणा गर्ने निर्णय गरेको हो।बैठकले घोषणा सभा तथा प्रथम रुकुमेली सम्मेलनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने निर्णय गर्दै विभिन्न जिम्मेवारीसहितका समितिहरूसमेत गठन गरेको तयारी समितिका संयोजक अधिवक्ता दिनेश खड्काले जानकारी दिनुभयो।
संयोजक खड्काका अनुसार घोषणा सभा तथा प्रथम रुकुमेली सम्मेलनलाई प्रभावकारी रूपमा सम्पन्न गर्न समन्वय तथा मूल व्यवस्थापन समिति, आर्थिक व्यवस्थापन समिति, प्रचार–प्रसार समिति, स्वागत तथा आन्तरिक व्यवस्थापन समिति र युवा तथा विद्यार्थी समन्वय समिति गठन गरिएको छ।
समन्वय तथा मूल व्यवस्थापन समितिमा संयोजक अधिवक्ता दिनेश खड्का र लोकेन्द्र खनाल लगायतलाई जिम्मेवारी दिइएको छ।त्यस्तै, आर्थिक व्यवस्थापन समितिमा खिमप्रकाश बुढा, महानराज ओली र रामबहादुर ओली रहनुभएको छ।कार्यक्रमको सूचना तथा प्रचार–प्रसारलाई प्रभावकारी बनाउन पत्रकार धनवीर दाहाल, बालकृष्ण शर्मा र सम्झना खड्कालाई जिम्मेवारी दिइएको छ।स्वागत, सत्कार तथा आन्तरिक व्यवस्थापनतर्फ मञ्जु के.सी. र आकृति चन्दलाई जिम्मेवारी दिइएको छ भने युवा तथा विद्यार्थी समन्वय समितिमा अधिवक्ता लोकेन्द्र यरी, एकराज के.सी.लगायतलाई जिम्मेवारी दिइएको तयारी समितिले जनाएको छ।
यसै गरि रुकुमेली सेवा समाजलाई व्यवस्थित र प्रविधिमैत्री संस्थाका रूपमा अघि बढाउने उद्देश्यले काठमाडौंमा रहेका रुकुमेलीहरूको विस्तृत विवरण संकलन गर्ने तयारीसमेत गरिएको छ।बैठकले काठमाडौं उपत्यकामा रहेका रुकुमेलीहरूको नाम, ठेगाना, पेशा, व्यवसाय, सम्पर्क लगायत आवश्यक विवरण व्यवस्थित रूपमा संकलन गर्न आवश्यक प्राविधिक प्रणालीको विकासका लागि उपसचिव चन्द्रसिंह श्रेष्ठलाई अनुरोध गर्ने निर्णय गरेको छ।
समितिका अनुसार यस्तो प्रणाली मार्फत काठमाडौंमा रहेका रुकुमेलीहरूको व्यवस्थित तथ्यांक तयार गर्नुका साथै आगामी दिनमा समाजका गतिविधि, आपसी समन्वय तथा सामाजिक अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रुकुमेली सेवा समाजले साविक रुकुम जिल्लाबाट विभिन्न कारणले काठमाडौं लगायत देशका विभिन्न स्थान तथा विदेशमा रहेका रुकुमेलीहरूलाई एउटै साझा संस्थागत अभियानमा जोड्ने लक्ष्य लिएको छ।समाजले रुकुमेलीहरु बीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउँदै एकता, सहकार्य, सद्भाव, सेवा र सामाजिक उत्तरदायित्वलाई संस्थागत गर्ने उद्देश्य राखेको छ।विभिन्न क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारी, सेवा निवृत्त अधिकारी, व्यवसायी, पत्रकार, कानुन व्यवसायी, प्राध्यापक, विद्यार्थी, युवा तथा विभिन्न पेशा र व्यवसायमा संलग्न रुकुमेलीहरूको ज्ञान, सीप, अनुभव र क्षमतालाई समाजको हितमा उपयोग गर्ने तयारीसमेत भइरहेको छ।
अनौपचारिक रूपमा बसेको तयारी समितिको बैठकमा समाजको औपचारिक घोषणा, प्रथम रुकुमेली सम्मेलनको व्यवस्थापन, प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, अतिथि तथा सहभागीको समन्वय, युवा तथा विद्यार्थीको सहभागिता र काठमाडौंमा रहेका रुकुमेलीहरूको विवरण संकलन लगायत विषयमा छलफल भएको थियो।बैठकमा तयारी समितिका संयोजक अधिवक्ता दिनेश खड्का सहित सदस्यहरू लोकेन्द्र खनाल, धनवीर दाहाल, महानराज ओली, खिमप्रकाश बुढा, रामबहादुर ओली, आकृति चन्द, मञ्जु केसी, पवि विष्ट लगायतको सहभागिता रहेको थियो।बैठकले घोषणा सभालाई सफल बनाउन तत्कालै विभिन्न व्यक्ति, संस्था तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी तयारीका काम अघि बढाउने निर्णय गरेको छ।
संयोजक अधिवक्ता दिनेश खड्काले रुकुमेली सेवा समाजको औपचारिक घोषणा तथा प्रथम रुकुमेली सम्मेलनलाई ऐतिहासिक र भव्य कार्यक्रमका रूपमा सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभयो।उहाँले रुकुमेलीहरूबीचको एकता र सहकार्यलाई संस्थागत गर्दै सामाजिक सेवा र विकासका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बलियो संस्था निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो।
“रुकुमेली सेवा समाज कुनै व्यक्ति वा समूह विशेषको संस्था नभई सम्पूर्ण रुकुमेलीहरूको साझा संस्था बनाउने हाम्रो उद्देश्य हो,” संयोजक खड्काले भन्नुभयो, “यस अभियानमा काठमाडौं लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण रुकुमेलीहरूको सहभागिता र सहयोग आवश्यक छ।” समितिले आगामी दिनमा विभिन्न क्षेत्रका रुकुमेली तथा सरोकारवाला निकायहरूसँग समन्वयलाई तीव्रता दिने जनाएको छ।
भदौ १४ गते हुने घोषणा सभा तथा प्रथम रुकुमेली सम्मेलनसँगै रुकुमेली सेवा समाजले औपचारिक संस्थागत यात्राको सुरुवात गर्ने तयारी गरेको छ। आयोजकले उक्त कार्यक्रममा काठमाडौं तथा आसपासमा रहेका सम्पूर्ण रुकुमेलीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गरेको छ।“एकता, सहकार्य र संस्थागत अभियानमार्फत समृद्ध रुकुमेली समाज निर्माण गरौं” भन्ने मूल भावनाका साथ अघि बढाइएको यस अभियानले देश तथा विदेशमा रहेका रुकुमेलीहरूलाई एउटै साझा सञ्जालमा जोड्ने अपेक्षा गरिएको छ। यस अधि तयारी समितिले विभिन्न ब्यक्तिहरुसंग चरणबद्ध रुपमा छलफल गरिसकेको छ।














