निगमले अन्य निकायको तुलनामा लिक्विड अक्सिजन छिट्टै ल्याउन सक्छ: कार्यकारी निर्देशक पौडेल
  • CIA Khabar

  • काठमाडौँ । कोभिडको दोस्रो लहर तीव्र बनेसँगै मुलुकभर अक्सिजनको माग अत्यधिक बढेको छ । अक्सिजन उत्पादक कम्पनीहरूले पनि माग थेग्न नसक्ने अवस्थामा पुगिरहेको बताएका छन् । यही अवस्थालाई दृष्टिगत गरी नेपाल आयल निगमले लिक्विड अक्सिजन आयातमा चासो देखाएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० सँग पेट्रोलियम पदार्थ आयात गरिरेहको निगमले लिक्विड अक्सिजन पनि ल्याउन सक्ने जनाएको छ ।

    ‘पछिल्लो समय आईओसीले लिक्विड अक्सिजन उत्पादन गरिरहेको छ । सरकारबाट निर्देशन भए आईओसीसँग कुरा गरेर अक्सिजन भित्र्याउन सकिन्छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने, ‘अन्य निकायको तुलनामा छिट्टै ल्याउन पनि सकिन्छ ।’ निगमले आईओसीका विभिन्न रिफाइनरीबाट खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थ आयात गरिरहेको छ ।

    उद्योगहरुको आवश्यकता कति हो, जानकारी पाए आईओसीसँग सहकार्य गरेर ल्याउन सक्छौं । –सुरेन्द्रकुमार पौडेल कार्यकारी निर्देशक, नेपाल आयल निगम

    ग्यास बुलेटमार्फत आयात भइरहेको छ । सरकारबाट निर्देशन आए लिक्विड अक्सिजन पनि बुलेटमार्फत ल्याउन सम्भव रहेको पौडैलले जानकारी दिए । ‘लिक्विड अक्सिजन बुलेटमार्फत ल्याउन सकिन्छ । तर खरिदको ग्यारेन्टी हुनुपर्‍यो,’ उनले भने, ‘कुनकुन उद्योगलाई कति आवश्यक छ । व्यवसायीले कति खरिद गर्छन्, जानकारी पाए आयात गर्न गाह्रो छैन ।’

    केही दिनअघि अक्सिजन उत्पादन गर्ने व्यवसायीसँगको छलफलमा व्यवसायीहरूले उत्पादनमा समस्या नभएको बताएका थिए । सिलिन्डरको मात्रै समस्या देखाएका थिए । व्यवसायीहरूले लिक्विडको माग नगरेकाले आयात नभएको पौडेलको भनाइ छ । लिक्विड अक्सिजन आयातका विषयमा निगमले आन्तिरक छलफल गरिरहेको पनि उनले बताए । ‘सरकारबाट निर्देशन भए आयात प्रक्रिया थाल्छौं,’ उनले भने । माग अधिक रूपमा बढेपछि अक्सिजन उत्पादक उद्योग चौबीसै घण्टा चलेका छन् । तर पछिल्लो समय माग धान्न गाह्रो परेकाले सरकारले तत्काल वैकल्पिक उपाय अवलम्बन गर्नुपर्ने नेपाल अक्सिजन ग्यास उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सिनाले बताए ।

    ‘निजी क्षेत्रले तत्काल आयात गरेर मोज्दात गर्न सक्दैन,’ उनले भने, ‘माग पूरा गर्न सरकारले नै तत्काल ल्याएर सहजीकरण गर्नुपर्छ ।’ हाल उपत्यकामा ९ र बाहिर १७ अक्सिजन उद्योग छन् । ती उद्योगमा १ लाख ८ हजार १ सय ६४ सिलिन्डर छन् । उद्योगको दैनिक क्षमता ५ हजार ६० मिटर क्युब रहेको उद्योग विभागको तथ्यांक छ । यसमा नागढुङ्गामा रहेको अक्सिटेक अक्सिजन प्रालिबाहेक अरू सबै सञ्चालनमा रहेको विभागका निर्देशक ज्ञानेन्द्र पराजुलीले जानकारी दिए । ‘दाङमा रहेको दाङ अक्सिजन पनि बन्द थियो, पछिल्लो समय त्यसमा उत्पादन थालिसकेको रहेछ,’ उनले भने । यता संघले भने २० उद्योगले मात्रै अक्सिजन उत्पादन गरिरहेको दाबी गरेको छ ।

  • २५ बैशाख २०७८, शनिबार ११:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images