काठमाडौँ । नेकपा (एमाले) नेपाल–खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो समूहको माग सम्बोधनका लागि सोमबार बिहान साढे नौ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ ।
आइतबार बसेको नेपाल–खनाल समूहको बैठकले सोमबार बिहान साढे नौ बजेसम्मको समयसीमा दिएको उक्त समूहका नेता योगेश भट्टराईले बैठकपछि जानकारी दिए ।
उक्त समयमा पनि आफूहरुको मागको सुनुवाइ नभए आफूहरु प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न नसक्ने उनले संकेत गरे ।
आफूहरुका दुईवटा माग रहेको भन्दै उनले पार्टी एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्किने र सहमतिका साथ अघि बढ्ने अवस्थामा संसदमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न आफूहरु तयार रहेको बताए ।