पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका एक–एक जनाको पोखराका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुष, पोखरा–१६ की ६० वर्षीया महिला, पोखरा–६ का ५२ वर्षीय पुरुष, पोखरा–२१ का ८० वर्षीय पुरुष, पोखरा–६ की ३२ वर्षीया महिला र पोखरा–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका–१ का ४० वर्षीय पुरुषको मंगलबार बिहान पोखराको चरक अस्पतालमा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको गएराति सवा १ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी म्याग्दीको बेनी नगरपालिका–९ की ५२ वर्षीया महिला, स्याङ्जाको भीरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुष र तनहुँको ब्यास नगरपालिका–१ की ५७ वर्षीया महिलाको पनि मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।