काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीसँग आत्मसमर्पण नगर्ने संकेत गर्दै झलनाथ र माधव नेपाललाई गाली गरेर नेकपा एमालेलाई विभाजित गर्न लागिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै भुसालले नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा बिघटन गराएर आफूहरूसँग बदला लिन खोजेको आरोप लगाएका छन् ।
भुसालले नाम नलिई विदेशी शक्तिले प्रतिनिधिसभा विघटनको बाटोमा लैजान खोजेको संकेत गरेका छन् ।
भुसालले भनेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ(माधवलाई गाली गरेर बाँकी रहको एमालेलाई विभाजित गरिँदैछ ….विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर, आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’
भुसालले यसो भनेर यदि जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनको पक्षमा नउभिए केपी ओलीलाई सत्ताबाट हटाउन माधव नेपाल पक्षले सांसदबाट राजीनामा दिने संकेत गरेका छन् ।
यसअघि गत सोमवार भुसाल लगायतका नेताहरुकै असहमतिले राजीनामाको निर्णय रोकिएर माधव पक्षका सांसद अनुपस्थित भएका थिए ।