काठमाडौं । कान्ति बाल अस्पतालमा केही दिनअघि छोराको समस्या लिएर चिन्तित हुँदै एक अभिभावक आइपुगे । बालकको समस्या थियो- ‘मोबाइल अत्यधिक चलाएका कारण जीउ गल्ने । बालक जुनबेला पनि घरमा डराइरहन्थे । मनोविद्को परामर्शपश्चात् थाहा भयो उनलाई आफूलगायत ‘बा, आमा र भाइलाई केही हुन्छ कि’ भन्ने डरले सताइरहेको रहेछ । त्यसकै असरले अनौठो स्वभाव देखा परेको रहेछ ।
८ वर्षीय अर्का बालकमा सामानहरू फालिदिने, आगो लगाइदिने र बाआमाका कुरा मान्दै नमान्ने समस्या देखा परेपछि अस्पताल ल्याइयो । ती बालकले यस्तो प्रतिक्रिया जनाउन थालेको केही दिनमात्र भयो ।
कान्ति बाल अस्पतालका चिकित्सक मनोविद् डा। रामपुकार साहका अनुसार अस्पतालमा घरमा अतालिएर मनोवैज्ञानिक समस्या देखा परेका बालबालिकाका केस लकडाउनको बीचमा धेरै आएको छ ।
‘एक जना बालक केहीदिनदेखि डरले हिँड्नै नसक्ने भएका थिए । यसलाई डिसिसरी डिसअर्डर भनिन्छ । यसमा तनाब धेरै भएपछि त्यो शरीरमा जान्छ । र शरीरको कुनै पनि भाग नचल्ने हुनसक्छ । तर शारीरिक रुपमा केही पनि गाह्रो भएको थिएन । अरु जाँच गर्दा रिपोर्ट नर्मल थियो,’ उनले सुनाए ।
कारण रहेछ, कोभिडको मनोवैज्ञानिक असर । घरमा बाहिर जाँदा ज्यान जान्छ भन्ने खालका कुरा सुनेपछि उनी अत्तालिन थालेका रहेछन् । साहका अनुसार कतिलाई त खान निल्नै गाह्रो हुने भएका केस पनि आए ।
‘खासमा बच्चाको डर व्यक्त गर्ने तरिका फरक हुन्छ । र उनीहरूको डर व्यक्त शरीरबाटै हुन्छ,’ डा। शाह भन्छन् ।
तस्बिर स्रोत स् युनिसेफ ।
मनोविद् करुणा कुँवरसँग पनि पछिल्लो समय यस्ता केस आइरहेका छन् । ‘एकजना अभिभावकले बच्चाले धेरै मोबाइल चलाएपछि किन चलाएको भन्दा बच्चाले मुख लगाएछन् । मुख लगायो भनेर एक थप्पड हान्दा आँखामा लागेर चोटपटक लागेछ । कतिपय अभिभावक चिन्तित हुँदै फोन गर्नुहुन्छ,’ कुँवर भन्छिन् ।
नयाँ भेरियन्टसहितको कोरोना दोस्रो वेभको प्रभाव बालिबालिकामा पनि उत्तिकै परेको छ । कोरोनाको प्रत्यक्ष असर त बालबालिकामा छ नै । त्यसमाथि लकडाउनको समयमा बालबालिकामा मानसिक समस्या पनि देखा पर्न थालेका यी प्रतिनिधि उदाहरण हुन् ।
डा। साहका अनुसार कान्ति बाल अस्पतालमा तीन वर्षमुनिका बालबालिकामा विकासमा कमी आएका केससमेत आउँछन् । मांसपेशी विकास नहुने ९जसले गर्दा हिँडडुल गर्न, सामात्न गाह्रो हुने०, बोलाउँदा नबोल्ने, बोलीकै विकास नहुने, भावनात्मक कुरा नबुझ्ने खालका समस्या आइरहेको उनले बताए । उनका अनुसार बालबालिकाको हुनुपर्ने जति बौद्धिक विकास पनि भएको पाइएको छैन ।