निरास बने देउवा-प्रचण्ड : संभव देखिएन बहुमतको सरकार
  • CIA Khabar

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद आज सकिँदै छ। राष्ट्रपति भण्डारीले संबिधानको धारा ७६ को उपधारा २ अनुसार बिपक्षी दलहरुलाई सरकार गठनका लागि आज साँझ ९ बजेसम्मको समय दिनुभएको छ ।

    अहिलेसम्मको अवस्था हेर्दा कांग्रेस माओवादीसहितको विपक्षी गठबन्धनलाई बहुमत जुटाउन हम्मेहम्मे देखिएको छ। त्यसका लागि एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई राजीनामा गराउन विपक्षी गठबन्धन लागिपरेको छ। एमालेका असन्तुष्ट पक्षको राजीनामा वा समग्र जनता समाजवादी पार्टी एकढिक्का नभएसम्म विपक्षी गठबन्धनको बहुमत पुग्दैन।

    हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ। कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा १५ जना छन। यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२४ मात्रै सांसद हुन्छन्। बहुमतका लागि १ सय ३६ सांसदको आवश्यकता पर्छ। एमालेको नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ हुन्छ। बहुमतका लागि १ सय २७ आवश्यक हुन्छ। नेपाल पक्षका १९ जनाले राजीनामा दिँदा पनि बहुमत जुटाउन सकस नै छ।

    एमाले वरिष्ठ नेता नेपाल, नेता भीम रावललगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएकै दिन राजीनामा दिनुपर्ने पक्षमा उभिनुएको थियो। नेपाल र रावलले राजीनामाको तयारी नै गर्नुभए पनि दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतले कडा आपत्ति जनाएपछि बैठकमा अनुपस्थित हुने निर्णय गरिएको थियो ।

    तर, प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएर राष्ट्रपतिले संयुक्त सरकार बनाउन दिएको समयसीमा सकिन लागे पनि राजीनामालाई लिएर नेपाल समुह एकमत हुन सकेको छैन। नेता नेपाल र रावलले सरकार गठनको तयारी गर्न भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई राजीनामा दिने प्रतिबद्धता पनि गराइसक्नु भएको छ । रावललगायत नेता सांसद पदबाट राजीनामा दिनुपर्ने पक्षमा हुनुहुन्छ। उनले ट्विटरमा प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसद पदबाट राजीनामा दिनुपर्ने अडान राख्नुभएको छ ।

    ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।

    त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ,’ रावलको भनाई छ । रावलको यो भनाईसँग नेपाल समुहका अधिकांश नेता सहमत छैनन । देउवासँग नेपाल र रावलले नाजायज संझौता गर्नुका साथै कांग्रेसको चुनाव चिन्ह रुख लिएर निर्वाचनमा जाने सहमति जनाएको बाहिर आएपछि नेताहरु आक्रोशित बनेको घटना बाहिर आइसकेको छ ।

    युवा नेताहरु राजीनामाभन्दा पनि पार्टीभित्रै संर्षघ गर्नुपर्ने पक्षमा छन्। उनीहरूले विद्रोह वा आत्मसमर्पण दुवै नभई नयाँ उचाइको एकतामा लाग्नुपर्ने बताएका छन्। यहीबीचमा सुनसरी क्षेत्र न १ का सांसद जयकुमार राईले पार्टी विभाजन हुने भए आफूले राजीनामा नदिने घोषणा गरिसक्नु भएको छ । राजीनामाले पार्टी विभाजन हुन्छ भने म त्यो पक्षमा छैन,’ राईले भन्नुभएको छ ।

    जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्नो दल सरकार निर्माणको सन्दर्भमा तटस्थ बसेको जानकारी गराउनु भएको छ । नेताद्वयले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरू कोही आए वैधता नदिन राष्ट्रपतिसमक्ष आग्रह गर्नुभएको छ ।

    यो घटनापछि उपेन्द्र यादवको हस्ताक्षरलाई राष्ट्रपतिले मान्यता नदिने प्रष्टै देखिएको छ । बिपक्षी गठबन्धनले बहुमतको सरकार गठन गर्न नसकेपछि आजै राष्ट्रपति भण्डारीले सवैभन्दा ठूलो दल एमालेलाई सरकार गठनको आह्वान गर्नुहनेछ । सो आह्वानपछि प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।

  • ३० बैशाख २०७८, बिहीबार १३:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images