काभ्रेपलाञ्चोक । सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड–महामारी ब्यवस्थापनका लागि रु छ करोड ८० लाख प्रदान गर्ने भएको छ ।
अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम दिने घोषणा गरिएको हो ।
धुलिखेलसँगै मुलुकका अन्य २५ अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लाण्ट र अक्सिजन ट्याङ्क निर्माणका लागि करिव रु तीन अर्ब बजेट बिनायोजन गरिएको छ ।
मन्त्रालयले बिनियोजित बनेको सीमाभित्र रहेर खरीद प्रक्रिया अघि बढाउन सहमति दिने र दायित्व सिर्जना भएपछि रकम मागगर्ने जनाउँदै आइतबार ती अस्पताललाई रु दुई अर्ब ९५ करोड २० लाख बजेट विनियोजन गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त अस्पताललाई कोरोना–बिरामीको उपचारार्थ क्षमता बढाउन अनुदान दिएको जनाइएको छ । घोषित बजेटअनुसार धुलिखेल अस्पतालले दश आईसीयू, पाँच भेन्टिलेटर र एक अक्सिजन ट्याङ्क निर्माण गर्नुपर्नेछ । “सरकारको सहयोगपछि कोरोनाका विरामीलाई अक्सिजनसहित थप उपचार गर्न सहयोग पुग्छ” अस्पतालका मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजूले भने । उनका अनुसार अस्पतालमा एचडीयू, आइसियू र सामान्य गरी १२५ शय्या कोरोना सङ्क्रमितको उपचारार्थ प्रयोग गरिएको छ ।
सो अस्पतालले काभ्रेपलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईको क्षेत्रकालाईसमेत सेवा पुर्याउँदै आएको छ ।
धुलिखेलबाहेक बनेपामा शिरमोरियल अस्पताल छ । आइतबारदेखि बनेपामै २५ शय्याको ‘भोमी कोभिड डेडिकेडेट अस्पताल’ सञ्चालनमा ल्याइएको छ । काभ्रेपलाञ्चोकमा जिल्ला अस्पताल छैन ।