काठमाडौँ । ‘ताऊ ते’ चक्रवातले भारतका केही राज्यमा वितण्डा मच्चाएको छ । महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । ६ हजार ३४९ बढी गाउँ चक्रवातका कारण नराम्ररी प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चक्रवातका कारण महाराष्ट्रमा मात्रै ११ जनाको मृत्यु भएको छ ।
रायगढ जिल्लामा चार जनाले ज्यान गुमाएका हुन् भने रत्नागिरी र ठाणे जिल्लामा २–२ जनाको मृत्यु भएको हो । यस्तै, सिन्धुदुर्ग र धुलेमा १–१ जनाको ज्यान गएको छ । मुम्बईको मिरा रोड क्षेत्रमा एक जनाको मृत्यु भएको हो ।
मुम्बईको ४७९ स्थानमा रुख ढलेका छन् । जसका कारण ६० भन्दा बढी स्थानमा ट्राफिक व्यवस्था प्रभावित भएको छ । आँधीका कारण सयौँ सवारी साधानमा क्षति पुगेको बताइएको छ ।
भारतीय मौसम विभागका अनुसार ताऊ तेका कारण मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ ।
यस्तै, आँधी प्रभावित क्षेत्रमा विद्युत सेवा काटिएको छ । विद्युत सब स्टेशनमा क्षति पुगेका कारण विद्युत आपुर्ति प्रभावित भएको हो ।