वाह ओलि सरकार, छाङ्गरु र तिङ्करमा कोरोनाखोप लगाइँदै
  • CIA Khabar

  • दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो ।

    व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए । उनका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप लगाइने छ । खोप जिल्ला आइपुगेको भन्दै उनले एक÷दुई दिनभित्रै खोप र आवश्यक औषधि लिएर छाङ्गरु र तिङ्कर जाने तयारी भएको बताए ।

    कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले छाङ्गरु र तिङ्करका लागि आएको खोप तत्काल लगाउने निर्णय गरेको थियो । व्यासका स्थानीयवासी गत वैशाख पहिलो सातादेखि खलङ्गाबाट छाङ्गरुका लागि बसाइँ सरेका थिए । व्यासका स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गामा छाङ्गरु र तिङ्करको जाडो छल्न आउने गर्छन् भने छ महिना खङ्लगाको गर्मी छल्न माथि उक्लिने गर्छन् ।

    व्यासको भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर सरकारले नक्सा सार्वजनिक गरेपछि यो क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको छ । यस क्षेत्रमा विशेष कार्ययोजना बनाएर सरकारले कार्यक्रम अघि सारेको छ भने प्रदेश सरकारले पनि विशेष गौरवको योजना अघि बढाएको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार ११:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images