काठमाडै । प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा सार्वजनिक अपील जारी गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई भोट मागेका छन् । नेकपा एमालेको अध्यक्षका तर्फबाट बुधबार दिउँसो २ पृष्ठ लामो अपील जारी गरेर ओलीले पार्टीका आधिकारिक उम्मेदवार बादललाई भोट नदिई अरुलाई दिएमा क्षम्य नहुने भन्दै एमालेका मतदातालाई चेतावनीसमेत दिएका छन् ।
निर्वाचन कानुनका जानकारहरुले यसरी मौन अवधिमा अपील जारी गरेर भोट माग्नु अनि मतदाताहरुमा धम्कीको भाषा प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको बताएका छन् । निर्वाचन आयोगले पनि यसमा आफ्नो ध्यानाकर्षण भएको बताइसकेको छ ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती यसरी मौन अवधिमा सरकारले फलानालाई मतदान गर भन्नु आचारसंहिताको उल्लंघन भएको बताउँछन् । उनी भन्छन्, ‘यो आचारसंहिताको उल्लंघन हो, प्रधानमन्त्रीले यसो नगरेको भए हुन्थ्यो । प्रधानमन्त्री वा पार्टी नेता कसैले पनि मौन अवधिमा यस्तो कार्य गर्न पाइँदैन ।’