कोरोनाबाट एउटै बस्तीमा १३ जनाको मृत्यु
  • CIA Khabar

  • महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन ।

    चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले बताए । “बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पुर्याएका थिए, अरु घरमै मरे” दाहालले भने, “अस्पताल पुर्याइएका दुई जनाको पनि पिसिआर परीक्षण भने गरिएको थिएन ।” महाव्याधि त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक आफन्त पनि अन्त्येष्टिमा सामेल हुन छाडेको दाहालले बताए । पछिल्ला केही घटनाका शव त नगरपालिकाले जेसिभीले उठाएर गाड्ने गरेको उनको भनाइ छ । कोरोनाले एकै वस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पिसिआर जाँचको सुरसारसम्म नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिपमाया श्रेष्ठ बताउँछिन् ।

    आफ्नो वडा बस्तीमा भएको मानवीय क्षति र घरघरैजसो रहेका बिरामीमा कोभिड–१९ को लक्षण रहेको वडाअध्यक्ष अशोककुमार महतोको भनाइ छ । अहिले बिरामी रहेकामध्ये धेरैजसोमा कोभिड–१९ कै लक्षण देखिएको महतो बताउँछन् । बस्तीमा अहिले २०० भन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको महतोले जानकारी दिए । पिसिआर परीक्षण र अन्य जाँच, उपचार सेवाका लागि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा निरन्तर सम्पर्कमा छौं” वडाअध्यक्ष महतोले भने, “सबैतिर महाव्याधिको चपेटाले प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसकिँदा ढिलाइ भएको हो ।” अब बस्तीस्तरमै पिसिआर परीक्षणका लागि स्वाव सङ्कलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ ।

    यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी रहेको र जाँच, उपचारका लागि जनशक्तिको प्रवन्ध गरिने बताए । जिल्लामा यसपालि गत वैशाख १४ गते कोभिड—१९ सङ्क्रमण पुष्टिले पहिलो मृत्यु भएको थियो । त्यसयता आज ९शुक्रबार० बिहान ७ बजेसम्म जम्मा ४१ जनाको सङ्क्रमण पुष्टि भएर मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा यसपालि एक हजार ५३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये एक हजार ३८२ जनामा सक्रिय सङ्क्रमण रहेको कार्यालयका कोभिड—१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिइन् । यसपालि ११५ जनाले सङ्क्रमण जितेका छन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १८:२९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images