‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ : पहिले त्रासदीका रुपमा, पछि मजाकका रुपमा ।’
कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली र विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर इतिहास दोहोर्याएका छन् । पुस ५ को पहिलो विघटन त्रासदीका रुपमा आएको थियो, आज मध्यरातको दोस्रो विघटनचाहिँ मजाक बनेर आएको छ । इतिहासले पनि कहिलेकाहिँ मजाक गर्दोरहेछ १
गत पुस ५ मा केपी शर्मा ओली र विद्यादेवी भण्डारीले आपसमा मिलेर गरेको संसद विघटन पहिलो प्रतिगमन थियो । आज राति (१ बजे) भएको संसद विघटनचाहिँ प्रतिगमन भाग–२ हो । पुनस्र्थापित जनप्रतिनिधिमूलक संस्थाको बलात्कारपछि गरिएको हत्या हो । पहिले संसदको बलात्कार गरियो, पछि हत्या भयो ।
अहिले देशमा कोरोनाको महामारी छ । जनता दिनहुँ अक्सिजन र बेड नपाएर मरिरहेका छन् । सरकारले खोप किनेर ल्याउन सकिरहेको छैन । तर, राष्ट्रिय एकताका साथ जनताको उपचारमा ध्यान दिनुपर्ने बेलामा सरकारले देशलाई जबरजस्त मध्यावधि चुनावतिर धकेलेको छ ।
अर्बौं रुपैयाँ खर्च हुने मध्यावधि चुनाव जनस्वास्थ्यका दृष्टिले पनि र आर्थिक व्ययभारका दृष्टिले पनि अहिले उपयुक्त देखिँदैन । देशको अहिलेको प्राथमिकता भनेको कोरोना महामारीविरुद्ध लड्नु हो । कोरोनाले थलिएका जनतालाई आर्थिक राहतका कार्यक्रममा ध्यान दिनु हो । जनतासँग भोट माग्नुपूर्व उनीहरुलाई बचाउनु अहिलेको प्राथमिकता हुनुपर्ने हो ।
प्रतिगमनको दोस्रो एपिसोडका विशेषता :
पुस ५ को पहिलो प्रतिगमन र जेठ ८ को दोस्रो प्रतिगमनवीच धेरै समानता देखिए पनि केही विशेषताहरु फरक छन् । प्रतिगमन भाग–२ का ती विशेताहरु यस्ता छन्–
१. पहिलो प्रतिगमनमा जनताले प्रधानमन्त्री केपी ओलीलाई मात्रै दोष दिएका थिए । दोस्रो प्रतिगमनमा राष्ट्रपतिको पनि संलग्नता प्रष्टिएको छ । राष्ट्रपति पनि प्रतिगमनको मतियार बनेको प्रष्ट भएको छ ।
२. पहिलो प्रतिगमनमा जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोहरु यसरी खुलेर नांगिएका थिएनन्, दोस्रो प्रंतिगमनका उनीहरु केपी ओलीमा मतियार सावित भएका छन् । संसद विघटन हुनु र देश मध्यावधि चुनावतिर धकेलिनुमा जसपाको महन्थ ठाकुर पक्ष पनि दोषी देखिएको छ । को प्रतिगमनका पक्षधर हुन् र को संसदलाई बचाउने पक्षका हुन् भन्ने प्रष्ट धु्रवीकरण भएको छ ।
३. पहिलो प्रतिगमनका बेला कोरोनाको जोखिम केही घटेको थियो र हिउँदयाम भएकाले आन्दोलनको मौसम थियो । अहिले कोरोनाको दोस्रो लहर फैलिएको छ । र, वर्षायाम भएकाले जनआन्दोलनको मौसम छैन । देशैभरि निशेधाज्ञा छ, जनता घरभित्रै कैद भएको अवस्था छ ।
४. पहिलो प्रतिगमन सच्याउने एउटा आशाको पुञ्ज सर्वोच्च अदालत थियो । जनदबावका कारण अदालतले त्यो सच्यायो पनि । तर, प्रतिगमनको दोस्रो एपिसोड सुरु हुँदा प्रधानन्यायाधीशको भुमिका माथिको विश्वास पनि धर्मराएको छ । नेकपाको विभाजनमा अदालतको भूमिका, लुम्बिनी प्रदेशका जसपा सांसदको मुद्दा, संवैधानिक परिषदको विषयमा प्रधानन्यायाधीशको भूमिका, कार्यपालिका र न्यायपालिकावीचको बढ्दो हिमचिम अनि अहिले सर्वोच्च अदालतमा देखिएको न्यायायाधीहरुको विवादका कारण अब अदालतले प्रतिगमन भाग–२ लाई सच्याउने धेरै आशा गर्न सकिँदैन ।
५. पहिलो प्रतिगमनका बेला भारतले सकेसम्म आफूलाई न्युट्रल देखाउन खोजेको थियो । कसैले बोल्न नसकेर डराएका मात्रै हुन्, प्रतिगमन भाग–२ मा छिमेकी भारत आफैं खेलाडीका रुपमा मैदानमा प्रस्तुत भएको छ । भारतले नेपालमा अस्थिरता चाहन्छ भन्ने प्रष्टै देखिएको छ । केपी ओली र महन्थ ठाकुरको साँठगाँठ र अनौठो मिलन यसैको एउटा नतिजा हो । र, यो प्रतिगमन भाग–२ को नयाँ विशेषता हो । बिहीबार बालुवाटारमा सम्पादहरुसँग प्रधानमन्त्री ओलीले बडो गर्वका साथ भनेका थिए कि विपक्षी मित्रहरु तानजस्तो दक्षिण–उत्तर,.उत्तर–दक्षिण गरिरहेका छन्, क्रिकेट मैदानमा अर्कैले बल च्याप्प समातिसकेपछि दौडेर रन आउँदैन !
६. र, प्रतिगमन भाग–२ को अर्को विशेषता के हो भने यसका मुख्य पात्र केपी शर्मा ओली यसपटक हास्यपात्रमा परिणत भएर मैदानमा आएका छन् । गत पुसमा उनी भीमकाय रुपमा प्रस्तुत भएका थिए । भयंकर त्रासदीका रुपमा आएको थियो पुस ५ । तर, अहिले केपी ओली थप ‘एक्स्पोज’ भएका छन् । नांगिएका छन् । नेकपा फुटेको छ र एमाले पनि क्षतविक्षत भएको छ ।
अहिले जनताले प्रष्टसित बुझेका छन् कि आखिर केपी ओली के चाहन्छन् । उनी देशलाई र आफ्नो पार्टीलाई कतातिर लैजान चाहन्छन् र नयाँ पुस्तालाई कस्तो व्यवस्था जिम्मा लगाउन चाहन्छन् भन्ने तथ्यको पर्दाफास भइसकेको छ । पुसमा यो तथ्यलाई बादलले ढाकेको थियो, अहिले बादल फाटेको छ ।
प्रतिगमनको पहिलो एपिसोडमा समृद्धि, विकास, लोकतन्त्र र राजनेताजस्ता शब्दहरु खुबै बिकेका थिए । दोस्रो. एपिसोडचाहिँ हारेको जुवाडेजस्तो पात्रलाई बोकेर मैदानमा खडा भएको छ ।