काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्र सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनुभयो । संचारकर्मीसगं कुरा गर्दै लिङ्देनले महामारीका बेला निर्वाचन सम्पन्न गर्न प्राविधिक कठिनाई भएपनि यो उपयुक्त कदम भएको उल्लेख गर्नुभएको हो ।
प्रधानमन्त्री र राष्टपतिको कदमबारे पार्टीले आधिकारिक धारणा नबनाएको भएपनि अहिले प्रतिनिधिसभाले संसदको रुपमा काम गर्न नसकिरहेको अवस्थामा र सरकार बनाउन कसैले बहुमत पुर्याउँन नसकिरहेको अवस्थामा निर्वाचन घोषणा स्वभाविक भएको उहाँको भनाई छ । उनले भन्नुभयो–‘अहिलेको संसदले प्रभावकारी ढंगले काम नगरेको अवस्थामा र सरकारका लागि कसैले बहुमत नजुटाएको अवस्थामा यो अवश्यम्भावी थियो । विधी प्रक्रियाको कुरा एउटा ठाउँमा छ तर अहिले संसदको जुन विकृत अवस्था देखिएको थियो, अब नयाँ प्रणालीका लागि निर्वाचनमा जानुपर्छ ।’
उहाँले अहिले भइरहेको महामारीको परिस्थितिमा निर्वाचन गर्न केही जटिलताहरू हुने समेत बताउनुभयो । उहाँले पहिलो प्राथमिकता महामारीलाई दिनुपर्ने भएकोले निर्वाचनको परिस्थिति राम्रो नभए पनि अहिलेको राजनीतिक निकास चुनाव वाहेक अरु हुन नसक्ने उल्लेख गर्नुभयो ।