काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले बताए ।
सरकारले हालै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ जारी गरेको थियो । सो अध्यादेश अनुसार प्रमुख जिल्ला अधिकारीको आदेश नमानेर अनावश्यक रुपमा हिँडडुल गर्नेलाई जरिवाना हुने व्यवस्था छ ।
कोभिड–१९ संक्रमण बढेको तर निषेध आदेश उल्लंघन भइरहेको गृह मन्त्रालयको निष्कर्ष छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई पनि संकेत गरेर गृह मन्त्रालयले भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीलाई लिखित निर्देशन दिएको छ ।
‘भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई भनिएको छ’ गृह प्रवक्ता दाहालले भने: ‘अध्यादेश पनि जारी भएको हुनाले सो अध्यादेशअनुसार कार्यान्वयन गर्न परिपत्र गरेका छौं ।’ गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले शनिवार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर भिडभाड हुन नदिन निर्देशन दिएका थिए ।