विपक्षी गठबन्धन आज गएन सर्वोच्च अदालत
  • CIA Khabar

  • काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा विघटन गरेपछि विरोधमा रहेका विपक्षी गठबन्धन आज सर्वोच्च अदालत नजाने भएको छ ।

    हस्ताक्षर जुटाउने कार्य अझै जुटिनसकेकाले आजका लागि सर्वोच्च नजाने तय भएको एमाले नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । उनले गर्न बाँकी आवश्यक प्रक्रिया पूरा गरेर भोलि १० बजे सर्वोच्च जाने तय भएको जानकारी दिए ।

    नेताहरुका अनुसार आज विपक्षी गठबन्धनका काँग्रेस, माओवादीका साथै जसपाको उपेन्द्र यादव र एमालेको माधव कुमार नेपाल समूहका जम्मा १४३ सांसदको हस्ताक्षर जुटिसकेको छ । यस्तै एमालेको नेपाल समूहका ६ सांसदले भने हस्ताक्षर नगरेको र उनीहरुलाई मनाउन प्रयास जारी रहेको बताइएको छ ।

    काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर जेठ ७ गते विपक्षी गठबन्धनले राष्ट्रपतिसमक्ष १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेको थियो । तर सो हस्ताक्षरलाई राष्ट्रपतिले वैधता दिएकी थिइनन् ।
    यस्तै एमाले अध्यक्ष केपी ओलीले पनि आफ्नो पक्षमा १५३ सांसद रहेको दावी पेश गरेका थिए । तर दुबै पक्षले बुझाएको हस्ताक्षरका कैफियत देखाउँदै राष्ट्रपतिले आफ्नो आह्वान अनुसार संविधानको धारा ७६(५) अनुसार सरकार बन्न नसकेको उल्लेख गरेकी थिइन् ।

    लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखेर संसद विघटनको सिफारिस गरेका थिए भने राष्ट्रपतिले पनि तुरुन्तै स्वीकृत गरेकी थिइन् । राष्ट्रपतिको कदमपछि शनिबार विपक्षी गठबन्धनको बैठक बसेर राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयप्रति राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको थियो ।

    विपक्षी गठबन्धन अहिले विघटनविरुद्ध भन्दा पनि देउवाले राष्ट्रपतिसमक्ष पेश गरेको दावीलाई वैधता दिन माग गर्दै अदालत जान लागेको बताइएको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार १६:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images