काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट तिव्ररुपमा फैलिएसँगै संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्ब्याइएको छ । आज उपत्यकाका तिन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गर्नुभएको हो ।
बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेको छ । हरियो सागसब्जीको हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने भएको छ । निषेधाज्ञामा पनि संक्रमण दरमा कमी नआएपछि विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको हो ।
यसअघि जारी गरिएका सवारी पास समेत खारेज गर्दै मृत्यु संस्कार, विवाहलगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइने भएको छ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्रैलाई अनुमति दिइने छ ।
त्यस्तै यसअघिको निषेधाज्ञाभन्दा अब हुने प्रावधानमा कडा सर्त रहेका छन्, जसको उल्लंघन गर्नेलाई कैद र जरिवानासमेत गर्नेगरी आदेश जारी गरिएको छ । आदेशका प्रावधान कोभिडसम्बन्धी अध्यादेश अनुरुप हुने भएको हो ।यसअघि उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो । निषेधाज्ञाको समय पटक–पटक थप गर्दै आजको निर्णयले जेठ २० सम्म कायम रहने जनाएको छ ।