न्युयोर्क — अमेरिका भर आप्रवासीविरुद्धको धरपकडको विरोधमा भइरहेका प्रदर्शनहरू थप तीव्र बन्दै गएका छन्। लस एन्जलसबाट सुरु भएको आन्दोलन न्युयोर्क, सान फ्रान्सिस्को लगायतका शहरमा समेत फैलिएको छ।
न्युयोर्कमा प्रदर्शनकारीहरूले आइसिई (ICE) को कार्यालयअगाडि जमघट गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मात्र विरोध गरेका छैनन्, आइसिई कार्यालयलाई न्यूयोर्कबाट हटाउनुपर्ने माग समेत राखेका छन्।
यसैबीच, सान फ्रान्सिस्कोमा पनि विरोध प्रदर्शन चर्किएको छ। प्रदर्शनको कारण दिउँसो करिब १ बजे नै त्यहाँको अदालत बन्द गरिएको थियो। प्रदर्शनकारीहरूले १०१ राजमार्गका लेनहरू बन्द गराएपछि यातायात प्रभावित भएको छ। यस्तो अवस्था तीन दिनभित्र दोस्रो पटक दोहोरिएको हो।
लस एन्जलसमा विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना (Marines) प्रयोग गरेपछि क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र लस एन्जलसका मेयर कारेन बासले आक्रोश व्यक्त गरेका छन्।
मेयर बासले आफूलाई पूर्व जानकारी नदिई सेना प्रयोग गरिएकोप्रति आपत्ति जनाउँदै, रात पर्नुअघि नै कर्फ्यु लागू हुन सक्ने चेतावनी दिएकी छन्। उनले प्रदर्शनलाई दमन नगर्न प्रहरी प्रमुखसँग विशेष छलफलसमेत गरेकी छन्।
गभर्नर न्यूसमले ट्रम्प प्रशासनविरुद्ध न्यायालयमा मुद्दा दायर गरिसकेका छन्, तर न्यायालयले धरपकड रोक्न गरिएको गभर्नरको आग्रह अस्वीकार गरिसकेको छ।