काठमाडौँ । हाल नेपालमा बंगालको खाडीमा विकसित यास नामक चक्रवातको आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । र उक्त प्रदेशका तराईका भू–भागमा उच्च बेगको हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै गण्डकी, वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौँमा आज विहानैबाट पानी परिरहेको छ । दिउँसो केही समय रोकिए पनि फेरि वर्षा सुरु हुने र दिनमा भन्दा राति अझ धेरै पानी पर्नेछ । शनिबार साँझबाट क्रमशः खुल्दै जाने महाशाखाले जनाएको छ ।