ओलीले भने– म लचिलो भए पनि माधवजीहरुले एकता बचाउन चाहेनन्
  • CIA Khabar

  • प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू थप लचिलो भएपनि माधव नेपालहरुले पार्टीलाई एकताबद्ध बनाउन कुनै पहल नगरेको आरोप लगाएका छन् ।

    बालुवाटारमा सुरु भएको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘म अझै पनि लचिलो भएर आएको छु । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति गरेको देखिँदैन ।’

    ओलीले पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव नरहेको पनि बताए । ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन,’ उनले भने ।

    अध्यक्ष ओलीले अहिले पनि केही व्यक्तिहरु अराजक ढंगले प्रस्तुत भएर पार्टीकै नेताहरुविरुद्ध विषबमन गरिरहेको बताए । ‘सरकारको आलोचना गर्ने, आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने र समाप्त गर्ने हिसाबले अराजक व्यक्तिहरु लागेका छन्,’ उनले भने ।

    ‘प्रचण्ड–माधवको महत्वाकांक्षा र स्वार्थले एकीकृत पार्टी विभाजित भयो’

    अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुको महत्वाकांक्षा र स्वार्थका कारण एकीकृत पार्टी विभाजित भएको आरोप लगाए। उनले आफू कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन आफू अहोरात्र खटेपनि प्रचण्ड–माधवहरुको स्वार्थका कारण विभाजित भएको बताए ।

    ‘कम्युनिस्ट पार्टी एकताबद्ध बनाउन म रात दिन अहोरात्र खटेको छु । हामी जिम्मेवार र अनुसाशित भएकाले हामीले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौं,’ उनले भने, ‘यत्रो दुखबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुको महत्वाकांक्षा र स्वार्थका कारण हाम्रो विभाजित भयो ।’

    उनले विभाजित नहुँदै पनि प्रचण्ड–नेपालहरुले आफूसँग शत्रुतापूर्ण सम्बन्ध बनाइसकेको पनि बताए ।

    ‘पार्टी विभाजित नहुँदै यतिधेरै शत्रुतापूर्ण सम्बन्ध बनाइसक्नु भएको थियो । मलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गर्ने त्यस्ता व्यक्तिहरु नेतृत्वमा हाबी हुँदा त्यो पार्टी आकारमा ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन,’ उनले भने।

  • १० बैशाख २०७८, शुक्रबार २१:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images