बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु
  • CIA Khabar

  • बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात जनाको क्रममा मृत्यु भएको छ ।

    आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

    कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबारअर्थात् आज बिहान १:२१ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    उनकाअनुसार, बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना सङ्क्रमितको मृत्यु भएको छ ।

    जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । यस्तै राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

    यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ ।

    भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ ।

    यस्तै दाङमा पनि एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल घोराहीमा उपचाररत घोराही उपमहानगरपालिका–१५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    उनको शुक्रबार राति ११ बजेतिर मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

    उनलाई वैशाख १ गतेदेखि आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । उनमा निमोनियासमेत थियो । योसँगै कोरोना अस्पताल बेल्झुण्डीमा कोरोनाबाट  मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

  • ११ बैशाख २०७८, शनिबार १८:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images