कोरोना संक्रमणको बेवास्ता गर्दै भारतको सुनौंली बजारमा नेपालीको लर्को
  • CIA Khabar

  • रुपन्देही– भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या लगातार तीन लाखबाट उकालो लागेको छ ।

    खुला सीमाना भएको नेपाल पनि त्यसको उच्च जोखिममा छ । भारतमा संक्रमण अस्वाभाविक तवरले बढिरहँदा नेपाल सरकारले भने सीमा क्षेत्रमा कडाइ गरेको छैन ।

    सीमा क्षेत्रमा भएको निर्बाध आवातजावत कायमै राखिँदा नेपाल भारत सीमा जोडिएको बेलहिया नाका हुँदै दैनिक सयौँ नेपाली किनमेलको लागि भारतको सुनौंली बजार जाने गरेका छन् ।

    नेपालमा भन्दा भारतमा खाद्यान्न, लत्ताकपडा तथा घरायसी सामान सस्तोमा पाइने लोभमा नेपालीहरु कोरोनाको जोखिममा पनि भारत जान छाडेका छैनन् ।

    संक्रमण उच्च भएपछि भारतका कतिपय राज्य फेरि लकडाउनमा गएका छन् । यसैकारण रोजगारी गुमाएका नेपालीहरू धमाधम नेपाल फर्कन थालेका छन् ।

    दैनिक संक्रमण वृद्धिका आधारमा विश्वमै शीर्ष स्थानमा पुगेको भारतबाट बेरोजगार भएका मजदुर, विद्यार्थी तथा तीर्थयात्रीसमेत दैनिक बेलहिया नाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् । तर उनीहरूको स्वास्थ्य परीक्षण भने प्रभावकारी भएको छैन ।

    नाकामा राखिएको एउटा हेल्थ डेस्कमा ज्वरो नाप्ने काम मात्र गरिँदै आएको छ । संक्रमणको शंका लागेकाहरूको मात्रै ऐन्टिजेन परीक्षण गरिए पनि बजार गएर फर्किएका नेपालीको भने परीक्षण नै गरिँदैन । जसले संक्रमणको जोखिम बढाएको छ ।

    सुनौंलीमा किनमेलको लागि भैरहवा, तिलोत्तमा , बुटवल, सैनामैना, देवदहबाट दैनिक सयौं मानिस जाने गरेका छन् ।

    सुनौंलीमा सस्तो मूल्यमा सामान किन्न पाईने हुँदा कोरोनाको जोखिम मोलेर बजार गर्न गएको भैरहवाकी देवी बेलबासेले बताईन् । मास्क, सेनटाईजर लगाएर बजार गएकाले संक्रमणको जोखिम कम रहेको उनी बताउँछिन् ।

    मूल्यमा एकरूपता नभएसम्म यस्तो समस्या कायमै रहने जानकारहरू बताउँछन् ।

    ‘नेपालमा भन्दा सुनौंलीमा सस्तो छ । केही पैसा भए पनि बच्छ । एक पटक जाँदा महिनाभर पुग्ने चिनीसहितका अन्य खाद्य वस्तु र लत्ताकपडा पनि ल्याउँछौँ,’ बुटवलकी रेनुका विष्टले भनिन् । कोरोनाको जोखिम भनेर हल्ला गरिए पनि सीमा क्षेत्रमा तदअनुरूपको कडिकडाउ नभएको उनले बताइन् ।

    आवातजावात तत्काल रोकौँ

    भारतमा ज्यामितीय गतिमा बढिरहेको संक्रमण बेलैमा सतर्कता नअपनाए खुला सीमा रहेको नेपालमा पनि फैलने विज्ञहरू बताउँछन् ।

    खुला सीमाबाट भइरहेका निर्बाध आवातजावत नरोके संक्रमण घर–घरसम्म फैलिने चेतावनी स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले दिए ।

    ‘भारतमा संक्रमण नियन्त्रणबाहिर पुग्दा पनि मानिसहरु सहज रुपमा आवत जावत गरेका छन्,’ गिरीले भने, ‘यो गम्भीर भूल हुन सक्छ तत्कालै प्रशासनले कडाइ गरोस् ।

    अहिले भारतको महाराष्ट्र, दिल्लीसहितका ११ वटा राज्य कोरोनाको हटस्पट भएको छ ।

    अहिलेको भाईरस पहिलेको भन्दा संक्रामक र बालबालिकालाई बढी असर गर्ने खालको भएको चिकित्सकहरूले बताएका छन् ।

    इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बैशाख १ गतेदेखि ८ गतेसम्म ९५५ महिला र २ हजार २६४ पुरुषसहित ३ हजार २ सय १९ सो नाकाबाट नेपाल प्रवेश गरेका छन् । तर, किनमेलको लागि आउने जाने नेपालीको यकिन तथ्याङ्क भने छैन ।

  • ११ बैशाख २०७८, शनिबार १९:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images