७२ सालको भूकम्पले चिनाएको बारपाक ‘बर्सेनि वैशाख १२ ले झस्काइरहन्छ बारपाकीलाई’
  • CIA Khabar

  • बारपाक (गोरखा) – छ वर्षअघि २०७२ वैशाख १२ गते गएको भूकम्पले गोरखाको बारपाकका ७२ जनाले ज्यान गुमाए । भूकम्पले यहाँका सबैजसो घरहरु गर्ल्यामगुर्लुङ ढल्यो । बारपाकको १ हजार ४ सय घर पूर्ण रुपमा क्षति भयो ।

    ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पको केन्द्रविन्दु नै गोरखाको बारपाक थियो । बारपाक केन्द्र भई पूर्वतिर सर्दै गएको भूकम्पले गोरखासहित १४ जिल्ला अति प्रभावित भयो ।

    छ वर्षअघि गएको भूकम्पलाई बारपाकीले बिर्सने प्रयास गर्दै गर्दा हरेक वर्षको वैशाख १२ ले झस्काइरहने गरेको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । भूकम्पले परिवार गुमाएकालाई यो दिनले पीडा दिएपनि भूल्न खोजिरहेका देखिन्छन् ।

    महाभूकम्पलाई बारपाकीले बिर्सन चाहे पनि भूकम्पकै केन्द्र रहेकाले बारपाक सबैको आकर्षणको केन्द्र बन्ने गरेको छ ।

    महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक भएकाले यो पनि गाउँपालिकाको एउटा चिनारी भएको जनप्रतिनिधिको बुझाइ छ ।

    पुरातन शैलीले बनेका घर भूकम्पले ढालपछि बनेको सुन्दर पक्की घरले बारपाकको सुन्दरता अर्कै बनाएको छ ।

    भूकम्पपछि बारपाकीलाई पुनर्स्थापित गर्ने क्रम चल्दै गर्दा ७४ सालमा स्थानीय तहको निर्वाचनले जनप्रतिनिधि भई सेवा गर्ने मौका यहाँका अगुवा नेता कार्यकर्तालाई मिल्यो ।

    तिनै जनप्रतिनिधिहरुको बलले लयमा फर्किएको बारपाकमा घर निर्माण तथा विद्यालय निर्माणका काम लगभग सकिएको गाउँपालिका अध्यक्ष भट्टले बताए ।

    भूकम्पपछि बारपाकको ऐतिहासिक पहिचानकै कारण गाउँपालिकाको नाम बारपाक सुलिकोट कायम गरी साविकको बारपाक, स्वारा, स्वौरपानी, ताकुमाझ, लाकुरिबोट, ताकुकोट, पाँचखुवा देउराली र पन्द्रुङ गाविसलाई गाउँपालिकामा समावेश गरियो ।

    पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

    भूकम्पका कारण ज्यान गुमाएकाको सम्झनामा बारपाक सुलिकोट गाउँपालिका १ बारपाकमा बारपाक स्मृति पार्क निर्माण भइरहेको छ । भूकम्पपछिको पुननिर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोशन विकले बताए ।

    गुजुम्म परेको लाहुरेहरुको बसोबास रहेको बारपाकको अहिले रुप फेरिएको छ । भूकम्पपछि बाटोघाटको विकास भएको छ । घरघरमा पुग्न सकिने मोटरबाटो बनेका छन् ।

    भूकम्पको केन्द्रबिन्दु भएकैले गर्दा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्नुका साथै ऐतिहासिक र पर्यटकीय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्ध सीता गुफा, ताकुकोट माईभगवती जस्ता सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको स्थलहरुले सिंगारिएको पवित्र भूमि बारपाक सुलिकोट गाउँपालिकाको चिनारी बनेको छ ।

    पर्यटकको केन्द्र बन्दै गएको बारपाकमा होटल, रेष्टुरेन्टदेखि पाहुनाहरुलाई स्वागत सत्कारका साथ राख्न होमस्टेहरु सञ्चालन गरिएका छन् । सामुदायिक होमस्टे सञ्चालन गरी ग्रामीण पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले सघाइरहेको छ ।

    छ वर्षपछि एकीकृत बस्ती उपहार

    भूकम्पले बारपाकलाई मात्रै ढालेन, गोरखाको सबै गाउँहरुमा उत्तिकै क्षति पु्र्‍यायो । गोरखाको धार्चे गाउँपालिकाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरए) ले निर्माण गरेको एकीकृत बस्ती पनि दुई दिनअघि मात्रै लाभग्राहीलाई हस्तान्तरण गरिएको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको उपस्थितिमा एनआरएनएका अध्यक्ष कुमार पन्तले लाप्राक एकीकृत बस्ती समुदायलाई हस्तान्तरण गरेका थिए ।

    धार्चे गाउँपालिकाको गुम्सीपाखामा गैरआवासीय नेपालीहरुले ५७३ घरसहितको एकीकृत बस्ती निर्माण गरेका हुन् ।

    भूकम्पकै केन्द्रबिन्दु रहेको अतिप्रभावित जिल्ला गोरखामा ८५ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार जीमेलीको तथ्यांकमा उल्लेख छ ।

    बारपाक केन्द्रबिन्दु भएर गएको ७२ सालको भूकम्पका कारण भग्नावशेषले च्यापिएर देशभरबाट ८ हजार ७ सय ९० जना नागरिकले ज्यान गुमाए । २२ हजार भन्दा बढी नागरिक घाइते भए ।

    भूकम्पले ९ लाख ९६ हजार निजी आवाससहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति हुन पुग्यो ।

    भूकम्पले ७ हजार छ सय ५३ वटा शैक्षिक संस्था, ११ सय ९७ स्वास्थ्य संस्था, ७ सय ५३ सांस्कृतिक सम्पदा तथा ४ सय १५ सरकारी भवनमा क्षति पुग्ने पुननिर्माण प्राधिकरणले जनाएको छ । भूकम्पले भत्काएका ती सम्पदाहरु अझै ठडिन सकिरहेका छैनन् ।

  • १२ बैशाख २०७८, आईतवार ०९:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images