लन्डन । बेलायतमा कोरोना विरूद्धको खोप ६ महिना भन्दा कम अवधिमा ७५ प्रतिशत वयस्कहरुले खोपको पहिलो डोज लगाइसकेका छन् । बुधबार सार्वजनिक तथ्यांकका अनुसार ७५.२ प्रतिशतले पहिलो डोज र ४९.५ प्रतिशतले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म ६ करोड ५६ लाख ५८ हजार ९४९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९५ लाख ८५ हजार ६६५ जनाले पहिलो डोज र दुई करोड ६० लाख ७३ हजार २८४ जनाले दोस्रो डोज लगाएका छन् । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दरमा सामान्य वृद्धि हुँदै गइरहेको छ । केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो ।
हाल दैनिक संक्रमण दर तीन हजारमाथि रहँदै आएको छ । निरन्तर बढ्दो क्रममा रहेको संक्रमण दर बुधबार चार हजार ३३० पुगेको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ९४ हजार ६९९ पुगेको छ ।