कोरोना खोप केन्द्रको भीड व्यवस्थित गर्न माग
  • CIA Khabar

  • काठमाडौँ– कोभिड–१९ विरुद्धको खोप लगाउन भीड बढ्न थालेपछि त्यहीँबाट कोरोना फैलन सक्ने त्रास भएको भन्दै भीड व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् ।

    गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा खोप लगाउन दैनिक हजारौँ मानिस लाममा बस्न थालेका छन् ।

    चावहिलभन्दा माथि नेपाल मेडिकल कलेजमा मात्र खोप लगाउने केन्द्र तोकिएपछि वरपरका अन्य स्थानीय तहका साथै सीमा जोडिएका सिन्धुपाल्चोक र नुवाकोटका स्थानीय तहका मानिससमेत खोप लगाउन आउन थालेका छन् ।

    बिहान १०ः०० बजेदेखि खोप लगाउन ५ः०० बजेदेखि नै मानिस लाममा बस्न आउन थालेका छन् । खोप लगाउन लाममा बसेपछि भीड हुन थालेपछि छाडेर हिँडेको गोकर्णेश्वर–७ का मङ्गलबहादुर तामाङले गुनासो गरे । अन्य स्वास्थ्य संस्थामा पनि खोप लगाउन तोकेर कम भीड गर्न सकिने भए पनि यसतर्फ सरोकार भएका निकायले ध्यान नदिएको उनको भनाइ छ ।

    गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय प्रदेश सरकारबाट आएको खोप जिल्ला जनस्वास्थ्य कार्यालयले नै केन्द्र तोकेर लगाएकाले स्थानीय सरकारलाई यस विषयमा समन्वय नगरिएको बताउनुहुन्छ । नगरपालिकालाई खोप दिए व्यवस्थित रुपमा लगाउने व्यवस्था मिलाउँ छौँ भनी माग गर्दा पनि पाउन नसकिएको शाखाले जनाएको छ ।

    जनस्वास्थ्यबाट खोप केन्द्र संयोजकका रुपमा खटिएका डा निश्चल ढकालले शुरुका केही दिन मानिस नआए पनि विगत तीन दिनअघिदेखि हजारौँ मानिस लाममा बस्न थालेको बताए ।

    कलेज खोप केन्द्रमा शुरुका केही दिन पाँचदेखि सात जनाले मात्र खोप लगाएका थिए । पछिल्लो तीन दिनदेखि भने दैनिक एक हजारदेखि एक हजार ५०० सम्मलाई खोप लगाउन थालिएको छ । कर्मचारी सङ्ख्या, भीड व्यवस्थापनलगायत कारणले त्यसभन्दा बढीलाई एकै दिन खोप लगाउन नसकिने उनको भनाइ छ ।

    हजारौँ मानिस लाममा बसिरहेका बेला बीचबीचबाट दबाबका आधारमा मानिस छिराउने गरेकाले समस्या हुने गरेको पनि लाममा बस्नेको गुनासो छ ।

    प्रहरी परिचालन गरेर खोप केन्द्रमा लाममा बस्नेलाई खोप लगाउने व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

  • १५ बैशाख २०७८, बुधबार २०:२९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images