काठमाडौ । बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशमा मनसुन आगमन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ । नेपालमा सामान्यतया मनसुन १३ जुनमा भित्रिने र २ अक्टोबरमा बाहिरिने गरेको छ । दक्षिण एशियाली जलवायु दुष्टिकोण मञ्च (एसएएससीओएफ)ले आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।
हाल देशको पूर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । तसर्थ देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविद् प्रधानाङ्गले बताए ।