कपिलबस्तु । नेपालको सन्दर्भमा प्रत्येक वर्ष बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बन्दै आएको छ । विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्ने गरेको छ । बाढीले गर्दा विगतका वर्षमा तराईका सयौँ घर डुबानमा पर्छन भने पहाडी क्षेत्रमा पहिरोको कारण धेरैले ज्यान गुमाए भने धेरै बेपत्ता भए ।
यस वर्ष पनि मनसुन सुरू हुँदैछ । यस वर्ष मनसुन बढी पर्ने सम्भावना रहेकाे बताइएकाे छ । त्यस समयमा बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकहरूले उक्त खतराबाट बच्न सचेत बन्न आवश्यक छ ।
बाढी पहिरोको बेला के कुरामा ध्यान दिने त ?
- बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्न हुन्न ।
- होचो भूभागमा आवातजावत गर्न हुन्न ।
- गाउँ र वस्तीमा बाढी आयो भने उचो भूभागमा जानुपर्छ ।
- समूहमा बस्नुपर्छ ।
- उचो भूभागमा जाने ठाउँ छैन भने आफ्नो घरको पहिलो, दोस्रो तल्ला वा छतमा बस्न सकिन्छ । छतमा पनि बस्न सक्ने अवस्था भएन भने बाहिरबाट गएका उद्धार टोलीलाई आफ्नो समस्या भन्नुपर्छ ।
- बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने थाहा पाउन सकिन्छ ।
- जल तथा मौसम पुर्वानुमान विभागले २४ सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको छ । संम्भव भएसम्म त्यो सूचना नियमित लिनुपर्छ ।
- संचारमाध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनपर्छ ।
- सूचना अनुसार सुरक्षित ठाउँको पहिचान पहिले नै गर्ने र बाढी आइहाले त्यो ठाउँमा जानुपर्छ ।
झरी पर्न थालेपछि कुन खोलामा कहिले बाढी आउँछ भन्ने बाढी पूर्वानुमान शाखाले अनुमान गर्छ र त्यहि अनुसार सतर्क रहन सम्बन्धित जिल्लाका नागरिकलाई अपिल गर्छ । तर पहिरो कतिबेला आउँछ भन्ने पहिले नै थाहा हुँदैन । तर पहिरोबाट पनि जोगिने उपाय भने छन् ।
- ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।
- पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने संभावना धेरै हुने भएकाले त्यस्ता ठाउँको पहिचान गर्नुपर्छ ।
- आवातजावत कम गर्नुपर्छ ।
- घर भत्किएर जनधनको क्षती हुने भएकाले घर बाहिर निस्किएर बस्नुपर्छ ।
- ठूलो पानी परिरहे जाग्राम बस्नुपर्छ ।
यति गर्नाले केही हदसम्म भएपनि ज्यान जोगाउन सकिन्छ । विपतको बेलामा समूहमा बस्दा एकअर्कालाई सहयोग गर्न सजिलो हुन्छ । यस्तै सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बसौं । यसले उद्धार तथा राहत वितरणमा सहज हुन्छ ।